भव्य रुपमा मनाइँदैछ पर्यटन दिवस

दिगो विकासका लागि पर्यटन र ऊर्जा भन्ने नाराका साथ नेपाल लगायत विश्वभर ३३ औँ विश्व पर्यटन दिवस मनाइदैछ । हरेक वर्षको सेप्टेम्बर २७ तारिखमा मनाइने यो दिवसको आज राष्ट्रपति निवासमा एक औपचारिक समारोह आयोजना गरी शुभारम्भ गरियो ।

विश्व पर्यटन दिवसका अवसरमा नेपालमा नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल टान लगायत पर्यटनसंग सम्बन्धित विभिन्न संघसंस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

आर्थिक समृद्धिको बलियो आधारको रुपमा पर्यटन व्यवसायलाई मानिएको छ । पर्याप्त सम्भावना हुँदाहुँदै पनि नेपालमा पर्यटन व्यवसाय सोचेजस्तो अघि बढ्न सकेको छैन ।

यतिबेला पर्यटन क्षेत्रले मुलुकको कुल गार्हस्थ उत्पादनमा तीन दशमलब दुई प्रतिशतको योगदान दिँदै आएको छ । राजधानी लगायत देशका विभिन्न पर्यटकीय स्थलमा महोत्सवको पनि आयोजना गरिएको छ ।

यस क्रममा बिहिबार विहान पर्यटन व्यवसायीले राजधानीमा प्रभातफेरि निकालेका छन् । यस्तै आज दिनभर नेपाल आउने विदेशी र्यटकलाई अन्तराष्ट्रिय विमानस्थलमा हरेक पर्यटकलाई उपहारस्वरूप नेपाली ढाका टोपी र माला लगाएर स्वागत गरिने कार्यक्रम छ ।
सन् १९८० देखि हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन मनाउन थालिएको विश्व पर्यटन दिवसका अवसरमा संयुक्त राष्ट्र संघीय विश्व पर्यटन संगठनका महासचिव तालेव रिफाइले एक सन्देश जारी गर्दै पर्यटन क्षेत्रले विश्वमा लाखौ+ मानिसलाई रोजगार प्रदान गर्नसक्ने धारणा व्यक्त गर्नुभएको छ