काठमाडौंमा सीता एअरको जहाज दुर्घटना लगत्तै सरकारद्धारा पाँच सदस्यीय छानबीन टोली गठन
आश्विन १३ गते, २०६९ मा प्रकाशित
काठमाडौं विमानस्थलबाट उड्ने बित्तिकै भएको सीता एअरको जहाज दुर्घटनामा परि १९ जनाको ज्यान गए लगत्तै सरकारले पाँच सदस्यीय छानबीन टोली बनाएको छ।
राजधानीबाट हिमाली क्षेत्र लुक्लाका लागि शुक्रबार बिहान सबेरै उडेको जहाज केही मिनेटमै विमानस्थल नजिकै रहेको मनहरा खोलाको छेउमा खसेको थियो।
विमानमा रहेका उडान कर्मचारी सहित १९ जनाको निधन भएको छ।
नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुका अनुसार उक्त जहाज उड्ने बित्तिकै चरासंग ठोकिएको थियो।
सबेरै सवा छ बजेतिर त्रिभुवन विमानस्थलबाट उड्ने बित्तिकै विमानको सन्तुलन बिग्रिएको थियो।
लगत्तै एयर ट्राफिक कन्ट्रोलरले विमानचालकसंग सम्पर्क गर्दा चरासंग ठोकिएको जवाफ पाएका थिए।
नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक मीनराज उपाध्यायले भने, “चरासँग ठोकिएको जानकारी प्राप्त भएको छ। हामी यसको थप छानबीन गर्नेछौं।”
चरासंग ठोकिए लगत्तै उक्त विमान मनहराको फाँटमा खसेको थियो।
वस्ती नजिकै भएपनि विमान मनहराको खुला किनारामा खसेको हुँदा विमान यात्रु बाहेक अन्य क्षति हुन पाएन। दुर्घटना लगत्तै मनहराको फाँटमा हजारौं मानिसहरुको भीड जम्मा भएको थियो।
दुर्घटनाका प्रत्यक्षदर्शीहरुले विमान आकाशमै असन्तुलित हुँदै आएको बताए।
पछिल्लो दुर्घटनासंगै नेपालमा यस वर्ष दुईवटा हवाई दुर्घटना भइसकेका छन्।
जेठमा मुस्ताङको जोमसोममा भएको विमान दुर्घटनामा १५ जनाको ज्यान गएको थियो।
एउटा गणना अनुसार सन् १९४९ मा नेपाली आकाश उडानको लागि खुल्ला भएपछि भएका ७० भन्दा बढी विमान दुर्घटनाहरुमा परी सात सय भन्दा बढीको ज्यान गइसकेको छ।
विमान दुर्घटनाको दुखद श्रृंखला हरेक वर्ष दोहोरिने क्रम जारी छ। प्रश्न उठ्छ: किन यस्तो भइरहन्छ? दोषी को?
अधिकारीहरु सरकारले उडानलाई सुरक्षित बनाउन हरसंभव प्रयास गरिरहेको बताउँछन्।
तर ३० वर्षभन्दा बढी विमान चलाएका अनुभवी पाइलट क्याप्टेन रबी कंसाकारले सरकारी निकायले अन्तर्राष्ट्रिय नागरिक उड्यन प्राधिकरण ICAO को नियम पालना गर्न निजी वायुसेवाहरुको बाध्य बनाउनु पर्ने बताए।
आफ्नो नाम बताउन नचाहने अर्का वरिष्ठ पाइलटका विचारमा उडान सुरक्षा, विमानहरुको प्राविधिक अवस्थाको अनुगमन गर्ने सरकारी निकायको कमजोरीका साथै पछिल्लो समयमा व्यापारिक प्रतिष्पर्द्धा र दबाबका कारण पनि वायु सेवाहरुले सुरक्षासंग सम्झौता गरिरहेका हुनसक्छन्।
तर सरकारी निकायले पर्याप्त काम गर्न नसकिरहेको भन्ने आरोपलाई नागरिक उड्डयन प्राधिकरणको त्रिभुवन विमानस्थलका महाप्रबन्धक रतिशचन्द्र लाल सुमनले ठाडै अस्वीकार गरे।
उनका अनुसार उडानको संख्यासंगै दुर्घटनाको संख्या बढेको देखिएको हुन सक्छ।
सुमनले पर्यटक आउने ऋतुमा काठमाण्डौं विमानस्थलमार्फत दैनिक साढे चारसय भन्दा बढी विमान आवाज जावत गरिरहेको बताए।
त्यस्तो चापका माझ पनि उडानको सर्वोपरि सुरक्षा कायम गर्न दुर्घटनाबाट पाठ सिक्दै नेपाली आकाशलाई थप सुरक्षित बनाउने हर संभव प्रयास भइरहेको सुमनले बताए।
त्यसको ठिक विपरित केही वर्ष अघि पत्रकार तोया दाहालले तयार पारेको अध्ययन प्रतिवेदनले विगतका दुर्घटनाका अध्ययन प्रतिवेदनले दिएका सुझावहरु पालना नहुनु, पुराना विमान र कमसल पाटपुर्जाको प्रयोग हु्नु र देशमा उडानको सर्वोपरि सुरक्षाका लागि आवश्यक दक्ष जनशक्तिको अभाव जस्ता कारणले नेपालमा विमान दुर्घटना बढेको तथ्य औंल्याएको थियो।