गाईघाट, उदयपुर – एमाले पोलिटब्युरो सदस्य प्रदीप नेपालले पार्टीभित्र फरक मत राखेर पार्टी फुटाउन लागेकाहरू आफैँ समाप्त हुने चेतावनी दिएका छन् ।
एमाले उदयपुर क्षेत्र नं ३ को शनिबारको पार्टी प्रशिक्षण भेलामा नेता नेपालले विदेशीको खुट्टामा हिँड्नेहरू एक दिन नराम्ररी पछारिने चेतावनी दिए । भेलामा झन्डै ३५० जना पार्टी कार्यकर्ताको सहभागिता थियो ।
एमाले उपाध्यक्ष अशोककुमार राईलगायत पार्टीबाट बाहिरिने तयारी गरिरहेकाबेला नेपालले उक्त चेतावनी दिएका हुन् ।
यसैबीच एमालेका केन्द्रीय सदस्य राजेन्द्र गौतमले राज्यका समस्याप्रति युवा सचेत नभएसम्म परिवर्तनको अनुभूति जनताले गर्न नसक्ने बताएका छना् । युवा सङ्घ नेपालको छैँटौँ नगरअधिवेशनको शनिबार उद्घाटन गर्दै नेता गौतमले सो कुरा बताएका हुन् ।
अधिवेशनले अगमशेर राईको अध्यक्षतामा पछि एक सदस्य थप गर्ने गरी २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । नवगठित कमिटीका उपाध्यक्षमा विवेक साही, सचिवमा कमल अधिकारी, सहसचिवमा पवन विश्वकर्मा र कोषाध्यक्षमा मोहन पोखरेल चयन भए । त्यसैगरी सदस्यमा सन्देशबन्धु राई, सुगम साही, लिलम ठकुरी, फणीन्द्र राई, लोकेन्द्र राई, धनुषा लिम्बु, कोपिला लिंखा, धनेन्द्र राई, कोपिला राई, दीपेश छारा, रुबेन खत्री, सबिन बस्नेत, किसान कार्की, मनकुमार राई र नन्दप्रसाद राई भए ।
नवगठित कमिटीलाई शुभकामना दिँदै एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईले युवा भनेका परिवर्तनका संवाहक भएकाले सोहीअनुरुप अगाडि बढ्न आह्वान गरे । रासस