चरासँग विमान ठोक्किने क्रम जारी, विमानलाई पोखरा विमानस्थमै आकस्मिक अवतरण

पोखरा । पोखराबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको विमानमा चरा ठोक्किएपछि विमानलाई पोखरा विमानस्थमै आकस्मिक अवतरण गराइएको छ । सोमबार दिउँसो ३ बजेर ३८ मिनेट जाँदा उडेको नाइन एनएजेसी नम्बरको विमान उड्ने वित्तिकै चरासँग ठोक्किएपछि ६ मिनेटमै अवतरण गराइएको थियो ।

 

विमान बेगनास तालमाथिको आकाशमा उडिरहेको चरासँग ठोक्किएको थाहा पाएपछि पाइलट एसएल मास्केले विमानलाई फर्काएर पुनः पोखरा विमानस्थलमा सुरक्षित अवतरण गराएका थिए । विमानमा ९ जना विदेशी, १७ जना नेपाली र चालक दल गरी २६ जना सवार थिए ।

पोखरा विमानस्थलमा अवतरण गराइएपछि निरीक्षण गर्दा विमानमा रगतको दाग पाइएको पोखरा विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए । विमानको बायाँ इञ्जिनमा चरा ठोक्किएको पाइएको उनले बताए ।


त्यस्तै सोमबार विहान ९ बजेर ३८ मिनेटमा पोखराबाटै काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमान धावन मार्गमा गुड्दै गर्दा चरासँग ठोक्किएको थियो । पोखरा विमानस्थलका प्रमुख तिवारीका अनुसार वुद्ध एअरको विमानमा चरा ठोक्किएपनि कुनै क्षति भएको छैन ।


चालक दलले विमानस्थल टावरलाई जानकारी गराएर वुद्धएअरको विमान उडेको थियो । गत शनिबार मात्रै काठमाडौंबाट लुक्लाका लागि उडेको सीता एअरको विमान चरासँग ठोक्किएर त्रिभुवन विमानस्थल नजिकै दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो । – RSS