काठमाडौं उपत्यका लगायत मुलुकका केही क्षेत्रमा कडा ज्वरो र रुघाखोकी लागेर अस्पताल गएका बिरामीमा स्वाइन फ्लु संक्रमण भेटियो

अतुल मिश्र

 

काठमाडौं – काठमाडौं उपत्यका लगायत मुलुकका केही क्षेत्रमा कडा ज्वरो र रुघाखोकी लागेर अस्पताल गएका बिरामीमा स्वाइन फ्लु भेटिएको छ । लामो समय ज्वरो आउने, घाँटी दुख्ने, टाउको र जीउ पूरै दुख्नेजस्ता लक्षण लिएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल गएकामध्ये केहीमा स्वाइन फ्लू -एचवानएनवान पीडीएम-९) प्रमाणित भएको हो । स्वाइन फ्लु लक्षण देखिए पनि बेलैमा उपचार सुरु भए डराउनु नपर्ने चिकित्सकले बताएका छन् ।

‘हामीकहाँ उपचार गराउने ललितपुरलगायत ठाउँबाट आएका केही बिरामीको ल्याब रिपोर्टमा स्वाइन फ्लुको संक्रमण भएको उल्लेख थियो,’ सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले भने, ‘रोगको किटान रैपिड किटबाट नभएर पोलमर चेन रियाक्सन -पीसीआर) मार्फत गरिएको थियो ।’ पुनका अनुसार मुलुकमा हाल इन्फ्लुएन्जा बी र एकै व्यक्तिमा इन्फ्लुएन्जा ए -स्वाइन फ्लु) र बीको संयुक्त संक्रमणसमेत देखिएको छ । जीउ पूरै दुख्ने, सय डिग्रीभन्दा बढीको ज्वरो सातदेखि १५ दिनसम्म आउने, घाँटी दुख्नेलगायत लक्षण देखिएको उनले बताए ।


स्वास्थ्य मन्त्रालयका अनुसार यस्तै लक्षणले अस्पताल गएकामध्ये चितवन, सिन्धुली र खोटाङबाट संकलित केही नमुनामा स्वाइन फ्लु भेटिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका निर्देशक डा. गीता शाक्यले प्रयोगशाला परीक्षणमा केही बिरामीमा स्वाइन फ्लु देखिएको मंगलबार कान्तिपुरलाई बताइन् । 


स्वाइन फ्लु संक्रमणले बालबालिका, कुपोषित र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई जोखिम हुन्छ । यसैगरी बूढापाका, मधुमेह, उच्च रक्तचाप, दमलगायत जटिलता भएका बिरामीलाई यसले बढी असर गर्छ । तर बेलैमा चिकित्सकले पहिचान गरी उपचार सुरु गरे जोखिम न्यून गर्न सकिन्छ । यसअघि यस्तै संक्रमण २००९ मा देखिए पनि २०१० र २०११ मा यो देखिएन । यसवर्ष देशका विभिन्न भागमा भाइरल ज्वरोले झन्डै एक दर्जनको मृत्यु भएका समाचार आए पनि खास कारण के थियो भन्ने प्रमाणित भएको छैन । ‘तीमध्ये स्वाइन फ्लुले पनि केहीको ज्यान गएको हुन सक्छ,’ एक चिकित्सकले भने ।


विश्व स्वास्थ्य संगठन -डब्लूएचओ) को गत शुक्रबार जारी प्रतिवेदनअनुसार दक्षिण एसियामा इन्फ्लुएन्जाको क्रियाकलापमा वृद्घ िभएको छ, जसअनुसार भारतमा स्वाइन फ्लु, इन्फ्लुएन्जा बी र नेपालमा इन्फ्लुएन्जा बीको भाइरस देखिएको छ ।


त्रिवि शिक्षण अस्पताल, मेडिसिन विभागका प्रमुख डा. शशि शर्माले सरकारले स्वाइन फ्लु देखिएको जानकारी सार्वजनिक गर्नुपर्ने बताइन् ।


डा. पुनले यस पटक देखिएको स्वाइन फ्लु संक्रमणलाई सरकारले संवेदनशील ठान्नुपर्ने बताए । उनको अनुभवमा यसपल्ट इन्फ्लुएन्जाको ज्वरो लम्बिएको देखिएको छ । ज्वरो निको भए पनि प्रभावितहरूमा टाउको दुखिराख्ने समस्या रहेको समेत देखिएको छ । ‘ज्वरो सातदेखि दस दिनसम्मको सट्टा १३/१४ दिनसम्म गएको छ,’ उनले भने ।