अमेरिकाद्धारा ताइवानीलाई प्रवेशाज्ञा नचाहिने व्यवस्था लागू

पर्यटन प्रवर्द्धनका लागि संयुक्त राज्य अमेरिकाले ताइवानीलाई अमेरिकी प्रवेशाज्ञा नचाहिने व्यवस्था लागू गरेको छ। ह्वाइटहाउसले जनाएअनुसार अब ताइवानीहरुले विना कुनै भिसा ९० दिनसम्म अमेरिका डुल्न सक्छन्। योसहित अमेरिका जान भिसा लगाउन नपर्ने मुलुकको संख्या ३६ पुगेको छ। ताइवान भिसा नलागी अमेरिका छिर्न पाउने पछिल्लो मुलुक बनेको छ। अमेरिकाले सैनिक सम्वन्ध, आर्थिक सम्वन्ध र जनता जनताबीचको सम्वन्धका आधारमा ताइवानीलाई प्रवेशाज्ञामा सुविधा उपलव्ध गराइएको जनाएको छ।

सन् १९४९ देखि स्वायत्तरुपमा रहेको ताइवान चीनको भूमिमा पर्छ। ताइवानमाथि चीनले आफ्नो भूमी भएको दावी गर्दै आएको छ।

ताइवानी नागरिकलाई उपलव्ध गराइएको सुविधाबारे अमेरिकाले चीनसँग कुनै छलफल गरेको छैन। युरोपेली संघले सन् २०१० मा नै ताइवानीलाई भिसा फ्री गर्ने निर्णय गरेको थियो। तर, अमेरिकालेजस्तै भिसा मिनाह गर्दा युनियनले छुट्टै देशको रुपमा व्याख्या गरेको थिएन।

 Source:Nagarik