आन्तरिक द्धन्दको मार खेपिरहेको सिरियामाथि छिमेकी देश टर्कीले पनि सैनिक आक्रमण शुरु गरेको छ । सीमा शहर आकाकालेमा सिरियाली सैनिकको आक्रमणमा पांच जना टर्कीस नागरीकको मृत्यु भएको बदलामा टर्कीले सिरियामाथि सैनिक आक्रमण शुरु गरेको बताईएको छ ।
सिरियामा आन्तरिक द्धन्द सिर्जना भएको १८ महिनाको अवधिमा छिमेकी टर्कीले आक्रमण गरेको यो पहिलो घटना हो । टर्कीले सिरियाको उग्रता रोक्नका लागि राष्ट्रसंघ समक्ष पनि आग्रह गरेको छ ।
बेल्जियमको ब्रसेल्समा नेटो सैनिक गठबन्धनका राजदुतहरु सिरियामाथि संभावित कारबाहीको योजना बनाउन भेला भएका छन् । टर्की सरकारले संसदबाट सीमा बाहिर सैनिक आक्रमण गर्ने अनुमति पाउने प्रयास समेत गर्ने भएको छ ।
सिरियाली सैनिकले कयौं पटक टर्कीको सिमा भित्र आक्रमण गरेकोमा पछिल्लो प्रत्याक्रमण निकै गंभीर रहेको बताईएको छ । सिरियाको निकट सहयोगी राष्ट्र रुसले भने सिरियामा बाहिरी सैनिक हस्तक्षेप अश्वीकार्य भएको जनाएको छ ।
Agencies