एमालेद्धारा देशभर सरकारको विरोधमा प्रदर्शन

काठमाडौं  । नेकपा एमालेका भ्रातृ संगठनहरुको साझा मोर्चाले शुक्रवार देशभर सरकारको विरोधमा प्रदर्शन गरेका छन् । राजधानीमा पनि एमालेले विशाल प्रदर्शन गरेको छ ।

 

रत्नपार्कबाट शुरु भएको विरोध -याली बागबजार, पुतलीसडक, भद्रकाली, शहीदगेट, बसन्तपुर, नरदेवी, असन हुँदै पुनः रत्नपार्कमै पुगेर आमसभामा परिणत भएको छ । यसअघि रत्नपार्कबाट शुरु हुन लागेको -यालीलाई सम्बोधन गर्दै एमाले अध्यक्ष झलनाथ खनालले एकीकृत माओवादी र प्रधानमन्त्री डा. बाबुराम भट्टराई सत्ता कब्जाको बाटोमा अघि वढेको आरोप लगाए ।

अहिलेको सरकार रहेसम्म राजनीतिक गतिरोधको निकास खोज्न सम्भव नहुने भन्दै उनले तत्काल पद छाडेर सहमतिका लागि बाटो खोल्न प्रधानमन्त्री भट्टराइलाई आग्रह गरे । प्रधानमन्त्रीले सत्ता नत्यागे आन्दोलनको आँधीबेहरी सृजना गर्ने खनालको भनाई थियो ।
 
एमालेका भ्रातृ संगठनहरुको साझा मोर्चाका संयोजक तथा एमाले सचिव शंकर पोखरेलले एकीकृत माओवादीले वार्ताको नाममा कांग्रेस एमालेलाई अल्मल्याउन खोजेको आरोप लगाए । प्रधानमन्त्री भट्टराई राजनीतिक गतिरोध लम्ब्याएर सत्ता कब्जा गर्न सकिन्छ भन्ने सोच लिएर अघि बढेको उनको आरोप थियो । गतिरोधको निकासका लागि सहमति खोज्न दबाब दिने उद्देश्यले पनि आन्दोलन थालिएको पोखरेलले बताए ।


 
विरोधसभालाई एमाले नेताद्वय केपी ओली र बामदेब गौतमले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

तत्काल पद त्यागेर राजनीतिक संकटको निकासका लागि प्रधानमन्त्री र सरकालाई दबाब दिन एमालेका भ्रातृ संगठनहरुको मोर्चाले ७५ वटै जिल्लामा विरोध प्रर्दशन आयोजना गरेको हो । मोर्चाले बढ्दो महङ्गी नियन्त्रण र राष्ट्रियताको पक्षमा सशक्त आवाज उठाउने जनाएको छ ।

 

– RSS