धादिङ । नेपाली कांग्रेसका शीर्ष नेताहरुले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पद नत्यागेसम्म एकीकृत माओवादीसँग सहमति नहुने वताएका छन् । बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले आज धादिङको धादिङवेसीमा गरेको छात्राहरुको राष्ट्रिय प्रशिक्षण कार्यक्रममा शीर्ष नेताहरुले माओवादीलाई विश्वास गर्ने आधार तयार भइनसकेको वताए ।
कार्यक्रममा कांग्रेस सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले माओवादी सत्ता कब्जाकै नियतमा अघि वढेकोले विश्वास गर्न नसकिने वताए । प्रधानमन्त्रीले पद त्यागेर विश्वासको वातावरण बनाउनुपर्ने सभापति कोइरालाको भनाई थियो ।
कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले एकीकृत माओवादीकै कारण राजनीतिक गतिरोध लम्बिएको जिकिर गरे । अरु दल लचिलो हुँदा पनि एकीकृत माओवादी गम्भीर नभएका कारण राजनीतिक गतिरोधको गाँठो नफुकेको देउवाको भनाई थियो ।
त्यस्तै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले अहिलेको सरकालाई भ्रष्टाचारीहरुको साझा थलो भन्दै एकीकृत माओवादी सत्ता कब्जाकै मानसिकतामा अघि वढेको आरोप लगाए ।
कार्यक्रममा कांंग्रेस नेताहरु डा. सशांक कोइराला, धनराज गुरुङ, मनमोहन भट्टराई, नविन्द्रराज जोशी, गगन थापा लगाएतले आन्दोलनबाटै सरकार ढाल्नुपर्नेमा जोड दिए ।
– RSS