सत्ता हस्तान्तरण गर्न संविधानसभाको पुनर्स्थापनालाई आफुहरुले शर्तको रुपमा विपक्षीहरु समक्ष प्रस्तुत नगरेको सरकारको नेतृत्व गरिरहेको एकीकृत नेकपा माओवादीले जनाएको छ।
तर ताजा चुनावमा जानु अघि संविधान संशोधन गर्न समेत आवश्यक पर्न सक्ने भन्दै पुनर्स्थापनाको विकल्प खुलै राखेको माओवादी प्रवक्ताले जनाए।
अध्यक्ष प्रचण्डले पुनर्स्थापनामा सहमत भए आफ्नो दलको नेतृत्वको सरकार स्वीकार्ने बताएको भन्दै नेपाली कांग्रेसका नेताहरुले विरोध गरेका थिए।
अघिल्लो आईतबार राष्ट्रपतिसंगको सामूहिक भेटघाटपछि सहमतिको ताजा प्रयास थाल्ने भन्दै बाहिरिएका दलका नेताहरुको प्रयास एक हप्ता वित्दापनि लथालिङ्ग अवस्थामै छ।
गएको शुक्रबार माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापतिसंगको कुराकानीमा संविधानसभा पुनर्स्थापनाको कुरा पुन कोट्याएपछि विपक्षीहरु झनै सशंकित बनेका छन्।
त्यसैको प्रतिवादमा एकीकृत माओवादीले पुनर्स्थापना आफुहरुले शर्तको रुपमा प्रस्तुत नगरेको बताएको हो।