विमानस्थल घटना छानबिन गर्न अर्को समिति, नेतृत्व एआइजीको

काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा तस्करी गरी देशबाहिर लान लागिएको विदेशी मुद्रा भेटिनुमा प्रहरीकै मिलेमतो भएको सार्वजनिक भएपछि चर्कँदो आलोचनाका बीच प्रहरी प्रधान कार्यालयले यस विषयमा छानबिन गर्न एक उच्चस्तरीय अनुसन्धान समिति गठन गरेको छ। यसअघि नै प्रहरीले डिआइजी पर्शुराम खत्रीको नेतृत्वमा गठित छानबिन समितिले काम सुरु गरिसकेको थियो। अन्तर्राष्ट्रिय विमानस्थल जस्तो  क्षेत्रमा भएको यस्तो घटनाको संवेदनशीलता हेरी प्रहरीले एआईजी भीष्म प्रसाइँको संयोजकत्वमा केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख उपेन्द्रकान्त अर्याल र अर्का डिआइजी दिनकरशमशेर राणा रहेको तीन सदस्यीय समिति गठन गरेको हो।

समितिलाई सात दिनको म्याद दिइएको छ। घटना के भएको हो ? को-को संलग्न थिए ? सुरक्षा प्रणाली कहाँ चुकेको थियो ? भोलि यस्तै घटना हुन नदिन के के गर्न सकिन्छ भन्ने बारे रायसुझावसहितको प्रतिवेदन पेश गर्न समितिलाई म्यान्डेट दिइएको हो। 

Source:Nagarik