विपना थापा
किमडाँडा, अर्घाखाँची
हाल- प्रेरणा संस्था अर्घाखाँची
म र मैले भोगेका दिनहरु:
मेरो नाम विपना थापा पार्बता थापा हो । मेरो घर अर्घाखाँची जिल्ला किमडाँडा गा.वि.स. वडा नं ०६ मा पर्दछ । मेरो घरमा बुवा आमा एक दाजु पाँच दिदिवहिनि छौं जसमध्येको म साहिली छोरी हुँ । मेरो वाल्यावस्था खुसीसाथ नै वित्यो । मेरो मा.वि. स्तरको पढाइ श्री जनता मा.वि पकले मा २०५६ सालमा एस.एल.सी. दिएर सम्पन्न भयो । मेरो बाबा भारतमा जागिरे हुनुहुन्थ्यो । बाबा आमा संगै दिल्ली भएकाले म पनि एसएलसी दिएपछि कम्प्युटर सिक्न भनि दिल्ली गएँ । एक वर्ष पछि म नेपाल फर्किए अनि खाँचीकोट गा.वि.समा मेरो विवाह भयो । मेरो श्रीमान पनि भारतमा जागिरे हुनुहुन्थ्यो । श्रीमानको जागिरको सिलसिलामा म पनि भारतको पुनामा भन्ने स्थानमा गएँ । त्यही बसाइको क्रममा हामीहरुमाझ एउटा छोरीको जन्म भयो अनि हामी नेपाल फर्कियौ । सोही समयमा मेरो ससुराको मृत्यु भएको थियो । बुवाको काजकि्रया सकेर मेरो श्रीमान जागिरको सिलसिलामा फेरी भारतको मुम्वइ जानुभयो । मुम्वइ पुगेपछि उहाँ एकदमै विरामी पर्नुभएछ उहाँ एकदमै कमजोर हुनुभएको रहेछ । अनि म लगाएत परिवारको आग्रहमा उहाँ नेपाल फकिनुभयो । उहाँ फकिर्ने क्रममा मेरो बाबा लिन जानुभयो मेरो काखमा ६ महिनाको नानी भएकाले म सन्धिखर्क सम्म मात्र लिन आए । उहालाइ देखेर म झसङ्ग भए झट्ट हेर्दा उहाको शरिर अस्थिपाजरले मात्र बनेको जस्तो देखिन्थ्यो। श्रीमानको स्थिती ज्यादै कमजोर भएकाले उहाँको उपचारार्थ हामीहरुले सन्धिखर्कस्थित डा.चित्र प्रसाद शर्मा वाग्लेको मेडिकलमा लग्यौ । डक्टरको सल्लाहअनुसार उहाँको क्षयरोग र एचआइभी जाच गरियो । अपशोच रिर्पोट अनुसार उहाँ एच.आइ.भी संक्रमित देखिनुभयो । जव मैले रिर्पोट सुने मैले आफैलाइ सम्हाल्न गाह्रो भयो मलाई अव म यो संसारमा वाच्नुको कुनै औचित्य छैन जस्तो लाग्यो । तर के गर्नु सास छउन्जेल आस भनेझै उहाँप्रति मेरो आशा कायमै राख्दै मैले उहाँलाई मेरो माइतीघर किमडाँडा लगे । १५-१६ दिनपछि फेरि उहाँलाई एकदमै झाडापखाला लाग्यो र अत्यन्तै कमजोर हुनुभयो त्यसपछि हामीले अर्घाखाँची जिल्ला अस्पतालमा भर्ना गर् यौ । ६ महिनाको नानी तथा सुत्केरी र पिरचिन्ताको कारण म पनि कमजोर भइसकेकी थिए यद्यपी मैले पाँच दिनसम्म अस्पतालमै बसेर श्रीमानको स्याहार सम्हार गरें । त्यस्तो दुःखको समयमा पनि मैले मेरो घरका कुनै व्यक्तीबाट कुनैप्रकारको सहयोग पाइन यसबाट म झनै दुखी भएँ । मेरा सवै दिन र रातहरु रोहेरै वित्थे । कताकता ति दिनहरु सम्झदा अझैपनि मेरा आँखाहरु रसाउँछन् । अव उहाँलाइ केहि गर्दा पनि सन्चो नहुने भएपछि हामीहरु घर गयौं ।
बि.सं २०६४ साल कार्तिक १३ उहाँले सदा सदाको लागी यो संसार छोड्नुभयो । उहाँको मृत्युको कारण म झन धेरै पिरमा परे । म घरमा गइ काजकि्रया सकेर माइतीमा आँए । मलाइ अव म पनि धेरै दिन बाच्दिन जस्तो लाग्न थाल्यो मलाइ मेरो भन्दापनि मेरा यि अबोध दुइ बालबच्चाको चिन्ता लाग्न थाल्यो । बाबा आमा नै नहुदा यि बच्चाहरु कसो गर्लान आफ्नो जिवन तथा भविष्य निर्माण कसरी गर्लान भन्ने चिन्ताले म निकै नै पिडित बने । रातमा बालबच्चा काखमा लिएर ओछ्यानमा पल्टदा यस्तै यस्तै कुराहरु सोच्दासोच्दै बिहान भइसकेको हुन्थ्यो सिरानी पुरै आँशुले भिजेको हुन्थ्यो । केही समय पछि मेरो भेट एच.आइ.भी सक्रमितहरुको संस्था सन्देश सहयोग समूहकी अध्यक्ष पार्वती बन्जाडे सँग भयो । उहाँ आफूपनि एच.आइ.भी संक्रमित भएको तथा एचआइभी र एड्सको बारेमा धेरै कुरा बताउनुभएकाले मेरो मन अलि हल्का भयो । एच.आइ. भी. र एड्सको बारेमा केही कुरा जानिसकेपछि मलाइ पनि एचआइभी जाँच गर्नुपर्छ भन्ने लाग्यो । त्यतीबेला अर्घाखाँची जिल्लामा भि.सि.टि नभएकाले म काठमाण्डौ गए त्यस समयमा काठमाण्डौस्थित बसुन्धारामा प्रेरणा भन्ने एच.आइ.भी सक्रमितहरुको संस्था रहेछ । त्यहीबाट म एचआइ भी जाँचको लागी टेकु अस्पताल गए रगत जचाँए रिर्पोट आयो । मलाई पनि एच आइभी संक्रमण भएको रहेछ । मलाई अत्यन्तै दुःख त लाग्यो तर मैले मजस्ता संक्रमित साथिहरु पहिले नै भेटिसकेकेा र एच.आइ.भी. र एड्सको बारेमा जानकारी पाइसकेकी हुनाले जसोतसो मनलाइ सम्हाल्न सकें । मेरो मनमा अव मैले एच आइ भी एड्सको क्षेत्रमा केहि गर्नुपर्छ भने सोचको विकास भयो । कोहीपनि मान्छे एचआइभीबाट सक्रमित हुन नपरोस भन्ने मेरो चाहना रह्यो र अवसर पाए भने म पनि केहि गर्न सक्छु भनी म अवसरको खोजीमा थिए । २०६५ सालमा एच आइ भी र एड्सको क्षेत्रमा काम गर्नेगरी दुइ वटा गैह्रसरकारी संस्थाहरु अर्घाखाँची जिल्लामा आए । जसमध्ये मैलै नेपालमै एचआइभी सक्रमितहरुको पहिलो संस्था प्रेरणा संस्थामा मेरा शैक्षिक योग्यता तथा स्वास्थ्य सम्बन्धि कागजपत्रहरु सहित निवेदन पेश गरे । कर्मचारी छनौटको लागी लिखित तथा मौखिक परिक्षाहरु भए जसमा म दुवै परीक्षामा सामुदायिक कार्यकर्ताको रुपमा उत्तिर्ण भए । हालसम्म पनि म यसै संस्थामा कार्यरत छु । अहिले म अर्घाखाँची जिल्लाका विभिन्न गाविसमा पुगेर एच आइभी र एड्स यौनरोग तथा कण्डमको बारेमा गाँउ गाँउमा जानकारी प्रदान गरिरहेको छु र गाउँका सवै व्यक्तीहरुलाइ एचआइभीबाट बच्नुपर्छ भन्ने सल्लाह दिन्छु । म यसरी गाउँ गाउँ डुलेर कुना काप्चा पुगेर आफुले जानेको र भोगेका एचआइभी र एड्स यौनरोग तथा कण्डम सम्बन्धी जानकारी दिन लागेको आज पुरै दुइ वर्ष पुगिसकेको छ । म अहिले प्रेरणा परियोजना कार्यालय अर्घाखाँचीमा कर्मचारीको रुपमा काम गरिरहेकी छु । यस संस्थामा काम गर्न थालेदेखि म एकदमै उत्साहित छु । आजकल म भित्र अझै धेरै काम गर्ने जोस जाँगर पलाएको छ । तसर्थ करिव १० वर्षको अन्तरालपछि म पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्क अर्घाखाँचीमा कक्षा ११ मा भर्ना भ्इ अध्ययन गरिरहेकी छु मेरो पढ्ने तिव्र इच्छालाई पुरा गर्दै उक्त क्याम्पसले मासिक शुल्कमा छुट गरी मलाइ अझै हौसला प्रदान गरेको छ । अहिले मेरो बच्चा पनि सन्धिखर्ककै एक बोर्डिङ्ग स्कूलमा पढ्दै छ ।
अन्त्यमा म सवै जनालाई तपाईहरु एच.आइ.भी र एड्स बारेमाको विस्तृत जानकारी लिनुहोस । मलाइ जस्तो कसैलाइ संक्रमित बन्न नपरोस । तपाईहरु एचआइभी र एड्स बारेमा जानकारी प्रदान गर्न अर्घाखाँची जिल्लाका ४२ वटै गाविसमा विभिन्न संघसस्थाले काम गरिरहेका छन् सवैले आ-आफ्नो स्थानमा रहेका संघसस्थारुसँग सहकार्य गरी एचआइभीलाई फैलन नदिउँ । हामी आफ्नो लागी आफै काम गर्नुपर्छ तसर्थ एच.आइ.भी र एड्स बारेमा ज्ञान बढाउन आफु बच्न र परिवारलाइ बचाउनको लागी आजैदेखि पहल गरौं ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।