यो वर्षको नोबेल साहित्य पुरस्कार चिनियाँ लेखक मो यानले पाएका छन्। लोककथा, इतिहास र वर्तमानलाई मिश्रण गर्दै उत्कृष्ट लेखेको भन्दै स्विडिश एकेडेमीले साहित्यको नोबल पुरस्कार उनलाई दिने घोषणा आज गरेको हो। यान सन् १९५५ मा चीनको शान्दोङ प्रान्तमा किसानको परिवारमा जन्मिएका थिए। उनका उपन्यास, छोटा कथा र विभिन्न विषयमा निबन्ध प्रकाशित छन्।
५७ वर्षीय यानको वास्तविक नाम गुआन मोय हो। मो यान उनको साहित्यिक उपनाम हो, जसको अर्थ हुन्छ -‘नबोल’। सन् १९८७ को उपन्यास रेड सोर्घुमका कारण विदेशमा उनलाई धेरैले चिन्छन्।
चीनको सांस्कृतिक क्रान्तिताका उनले स्कूल छोडी तेल उत्पादन गर्ने कम्पनीमा काम थालेका थिए। २० वर्षको उमेरमा उनी त्यहाँको जनमुक्ति सेनामा भर्ती भएका थिए र सेनामै रहँदा उनले सन् १९८१ देखि लेख्न थालेका थिए।
उनी चिनियाँ सेनाको सांस्कृतिक एकेडेमीको साहित्य विभागमा प्रशिक्षक थिए।
उनले लाइफ एन्ड डेथ आर वेयरिङ मि आउट शीर्षकको उपन्यास मात्र ४३ दिनमा लेखेका थिए। उनका धेरै उपन्यासहरु अंग्रेजीमा अनुवाद भएका छन्। बिग ब्रेस्टस एन्ड वाइड हिप्स, द रिपब्लिक अफ वाइन, द गार्लिक बालादस ती मध्ये केही हुन्।
Source:Nagarik