काठमाडौं । एकीकृत माओवादीले संविधानसभा पुनस्थापनाको अभियानलाई फेरि अघि सारेपछि पुनस्थापनाको माग गर्दै आएका केही पूर्व सभासद् भने हौसिएका छन् । यसै क्रममा सत्ताधारी तथा विपक्षी दलहरु सम्वद्ध सभासद्हरुले नयाँ बानेश्वरस्थित सम्मेलन केन्द्रमा आज भेला आयोजना गरे । भेलामा सहभागी पूर्व सभासदहरुले मुलुकलाई दुर्घटनाबाट जोगाउन पनि संविधानसभा पुनस्थापना अनिवार्य भएको जिकीर गरे । भेलामा बोल्दै कांग्रेस नेता एवं पूर्व सभासद गोपालमान श्रेष्ठ र एमालेका भीम आचार्यले संविधानका विवादित बूँदामा सहमति जुटाएर पुनस्थापना जानुपर्ने बताउनु भयो ।
यस्तै एकीकृत माओवादीका जनार्दन शर्माले संविधानसभाको पुनस्थापना सहज रुपमा नभए हस्तक्षपकारी भूमिका खेल्नुपर्ने बताउनुभयो ।
तर नेकपा माओवादीकी प्रवक्ता पम्फा भुसालले भने संविधान निर्माणमा दलका नेताको नभई सभासद्ले भूमिका रहने ग्यारेण्टी भएमात्रै पुनस्थापनाको अर्थ हुने बताउनुभयो ।
यस्तै समाजवादी प्रजातान्त्रिी जनता दलका प्रेमबहादुर सिंह र संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च थरुहटकी रुक्मिणी चौधरी लगायतका पूर्व सभासद्हरुले भने आपूmहरुको सभासद् पद कायमै रहेको दाबी समेत गर्न पछि परेनन् ।
संविधानसभा बिघटन नहुदै सभासद् पद खोसिएका संघीय लोकतान्त्रिक मञ्चका राजकुमार नाल्वोलाई समेत पूर्व सभासद्कै हैसियतमा सहभागी गराइएको थियो । पूर्व सभामुख सुवास नेम्वाङले पूर्व सभासद्हरुको भेलाको अध्यक्षता गर्ने भनिएको भएपनि नेम्वाङ भने भेलामा उपस्थित पनि हुनु भएन । भेलाको अध्यक्षता पूर्व उपसभामुख पूर्णकुमारी सुबेदीले गर्नुभएको थियो ।
– RSS