एमालेका माधव कुमार नेपाललाई आदिवासी जनजातिहरूले कालो झन्डा देखाए

खोटाङ  – नेकपा एमालेका वरिष्ट नेता माधव कुमार नेपाललाई जिल्लास्थित आदिवासी जनजातिहरूले कालो झन्डा देखाएका छन् । एमाले र तीनका नेताहरु जनजाति विरोधी र संघीयता विरोधी भएको भन्दै कालो झण्डा देखाइएको आदिवासी जनजातिको विज्ञप्तिमा जनाइएको छ ।


यस क्रममा कालो झण्डा देखाउने नेविसंघका उपाध्यक्ष निर्मल राई पक्राउ परेका छन् । राईको पक्राउप्रति खम्बुवान राष्ट्रिय मोर्चाले विरोध जनाएको छ । उसले तत्काल रिहाइ गर्नुपर्ने विज्ञप्तिमार्फत जनाएको छ । खम्बुवान केन्द्रीय सदस्य मेघराज राईले लोकतान्त्रिक मूल्य मान्यताका आधारमा व्यवहार गर्नु पर्ने विज्ञप्ति मार्फत जनाएका छन् ।


एमाले नेता माधवकुमार नेपालले एमाओवादीका कारण वर्तमान राजनीतिक गतिरोध अन्त्य नभएको बताएका छन् । नेकपा एमाले खोटाङको कार्यालय उद्‌घाटन गर्न दिक्तेल आउनु भएका नेपालले बिहीबार पत्रकार सम्मेलनमा त्यसो भनेका हुन् ।


एमाओवादीले राजनीतिक गतिरोध खडा गरेर सत्तामा टिकिरहनका लागि मुलुकलाई गतिरोधतर्फ धकेलेको नेपालको भनाइ थियो । संविधान सभा विघटन गरेर त्यसको दोष कांग्रेस एमालेलाई दिएको नेपालले बताए । अहिले एमाओवादीले एमालेलाई बाइपास गरेर कांग्रेससँग वार्ता अघि बढाएको र एमाओवादी र कांग्रेसले जे सहमति गरे पनि त्यसमा एमाले नजाने नेपालले बताए । पत्रकारहरूको प्रश्नमा नेपालले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको मति फिर्ना साथ सहमति हुने र मुलुकले शान्ति र संविधान पाउने दाबी गर्नुभयो । एमाओवादीले सरकार नछाडे संघर्षमा उत्रने नेपालले सुनाए । नेपालसहित प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ लगयतका एक दर्जन केन्द्रीय नेता दिक्तेल आइपुगेका छन् ।

 

– RSS