एमालेद्धारा संविधानसभा पुनः स्थापनाको एजेण्डा कुनै हालतमा स्वीकार नगर्ने अडान

संविधानसभा पुनःस्थापनामा नलाग्न एमालेद्धारा आफ्ना पूर्वसभासद्हरुलाई कडा निर्देशनकाठमाडौं  । नेकपा एमालेले संविधानसभा पुनःस्थापनाको एजेण्डा कुनै हालतमा स्वीकार नगर्ने अडान दोहो-याएका छन् । एमाले स्थायी समितिको आज बसेको बैठकले ताजा निर्वाचन नै समस्याको समाधान भएको स्पष्ट गर्दै पुनःस्थापनाको बहकाउमा नलाग्न आफ्ना पुर्व सभासद्हरुलाई सचेत गराउने निर्णय गरेको छ ।

 

पार्टीका निवर्तमान मुख्य सचेतक भीम आचार्यलगायतका नेताहरु पुनःस्थापना सम्बन्धी बैठकमा सहभागी भई वकालत थालेपछि एमालेले आफ्नो धारणा फेरि स्पष्ट पारेको हो ।

 

एकीकृत माओवादीले संविधानसभा पुनस्र्थापनाको मुद्धा एकाएक उठाएपछि कांग्रेस र एमालेमा पनि नेताहरुबीच अन्तरविरोध बढेको छ ।

नेताहरु ताजा निर्वाचन र पुनःस्र्थापनाको कित्तामा बाँडिन थालेपछि पुनःस्थापनाको मुद्धालाई एमाओवादीले सिर्जना गरेको गोलचक्कर भन्दै त्यसमा नलाग्न एमालेले पुर्व सभासद्हरुलाई कडा निर्देशन दिएको हो ।


एमालेले पार्टी परित्याग गरेको घोषणा गरेका अशोक राई सहितका ९ जना केन्द्रीय नेतालाई पार्टीबाट निस्कासित गरेको छ । पार्टी मूख्यालय बल्खुमा आज बसेको स्थायी कमिटी बैठकले राईसहित विजय सुब्बा, राजेन्द्र श्रेष्ठ, वीरबहादुर लामा, रकम चेम्जोङ, अजम्वर राई काङमाङ लगायतको साधारण सदस्यता समेत खारेज गरेको हो ।


पार्टी परित्याग गरेको भनिएका तल्ला तहका ५ सय नेता कार्यकर्ताहरुको विषयमा भने छानबिन गरेर मात्र कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय एमालेले गरेको छ ।


यसैबीच, एमालेले दशै तिहार, नेपाल सम्वत र छठको अवसर पारेर कार्तिक १४ गते पार्टी मुख्यालय बल्खुमा चियापान आयोजना गर्ने जनाएको छ ।

 

– RSS