काठमाडौ – काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला ले दलहरुवीच सहमति नभए राष्ट्रपतिको निर्णयबाट कातिक भित्रमै नयाँ सरकार गठन हुने दावी गरेका छन् ।
रिपोर्टर्स क्लबमा आईतवार उनले दलहरुले सहमति नगरे राष्ट्रपतिले संविधानको संरक्षकको नाताले कदम चाल्न बाध्य हुने भन्दै राष्ट्रपतिको निर्णयबाटै नयाँ सरकार गठन हुने ठोकुवा गरेका हुन् ।
‘सहमति भए पनि नभए पनि कातिकमा नयाँ सरकार आउँछ । मुलुक अब लामो समयसम्म बन्धक रहनै सक्दैन’ सिटौलाले भने, ‘राष्ट्रपतिले सार्वजनिक रुपमै चुप लागेर नबस्ने संकेत गरिसक्नु भयो । अब दलहरुवीच सहमति भए पनि नभए पनि राष्ट्रपति कदम चाल्न बाध्य हुनु हुन्छ ।’
संविधानसभा बचाई राख्न काँग्रेसले पटक पटक प्रयास गरे पनि माओवादीले नमानेको कारण अन्तत आफूहरु निर्वाचनमा जाने निर्णयमा पुगेको भन्दै अब फेरि काग्रेस पुनःस्थापनाको माओवादीको हावादारी कुरामा नअल्झिने उनले बताए ।
उनले काग्रेसले विवादित विषयमा सहमति जुटाएर संविधान जारी गर्न पुनःस्थापना गर्न सकिन्छ भनेको कुरालाई लिएर माओवादीले राजनीति गरेको भन्दै काँग्रेस अब पुनःस्थापनाको हावा खेलमा नअल्झिने उनको भनाई थियो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालको संविधानसभा पुनःस्थापानको प्रस्ताव संविधान बन्न पनि नदिने, निर्वाचन पनि हुन नदिने र सत्ताको आयू बढाउने चाल मात्रै भएको सिटौलाले ठोकुवा गरे । उनले भने, ‘प्रचण्डजीको बोलीको विश्वास छैन । अहिले पुनःस्थापनाको कुरा गर्ने प्रचण्डले बेल्जियमबाट फर्केपछि हेर्दै जानुस फेरि कुरा फेर्छन ।’
सिटौलाले अब आगामी बैशाखमा संविधानसभाको भुमिका समेत निर्वाह गर्ने गरी संसदको निर्वाचन गर्न सबै तयार हुनुपर्ने भन्दै अबको दलहरुको छलफल सहमतिको सरकार गठन, निर्वाचन र निर्वाचनको मितिको विषयमा केन्द्रीत हुने समते दावी गरे ।