पश्चिम अफ्रिकी मुलुक मौरिटानियाका राष्ट्रपति मोहम्मद अब्देलाजिज सेनाको गोली प्रहारबाट घाईते

मौरिटानियाका राष्ट्रपतिमाथी गोली प्रहारपश्चिम अफ्रिकी मुलुक मौरिटानियाका राष्ट्रपति मोहम्मद अब्देलाजिज सेनाको गोली प्रहारबाट घाईते भएका छन् । राष्ट्रपतिको पाखुरामा गोली लागेको र उनको सैनिक अस्पतालमा सफल अपरेशन भैसकेको बताइएको छ । अधिकारीहरुले उनी छिट्टै थप उपचारका लागि विदेश जाने बताएका छन् ।


राष्ट्रपति अब्देलाजिजमाथि सेनाको गस्ती टोलीले भूलबस गोली हानेको त्यहाँका सुचनामन्त्री माम्दी मह्जुबले राष्ट्रिय टेलिभिजन मार्फत जानकारी गराएका छन् ।


यसअघि सरकारी रेडियोले भने अब्देलाजिज हत्या प्रयासबाट फुत्कन सफल भएको जनाएको छ । अब्देलाजिज सन् २००८ को सैनिक कु पछि सत्तामा आएका थिए ।


तर, त्यसको एक वर्ष पछिको राजनीतिक सहमतिपछि सम्पन्न निर्वाचनमा उनी राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

 


एजेन्सी