काठमाडौं । काठमाडौंको सतुंगलस्थित चौधरी ग्रूप अन्तर्गतको सीजी ईलेक्ट्रोनिक्स काखानामा आइबार साँझ भीषण आगलागी भएको छ । साँझ ६ बजेदेखि लागेको आगो नियन्त्रण गर्न हम्मेहम्मे परेको छ । आगो नियन्त्रणका लागि उपत्यकामा उपलब्ध ६ वटै दमकल परिचाल गर्दा पनि असंभव भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विशेष खालको अग्नी नियन्त्रक यन्त्र पनि घटनास्थल लगिएको छ ।
दर्जनौं स्थानीय पानी टयांकरहरु पनि आगो निभाउन प्रयोग गरिएको थियो । आगो नियन्त्रण गर्न नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दा खटिएका छन् ।
चौधरी ग्रूपको यस कार्खानामा एलजी तथा सीजी ब्राण्डका रेफ्रिजेरेटर, टेलिभिजन तथा मोबाइल सेट लगायतका ईलेक्ट्रोनिक्स सामग्री एसेम्बल गर्ने गरिन्थ्यो । अचानक लागेको आगोले पूरै कार्खाना र त्यहाँभित्र रहेका संपूर्ण सामग्री नष्ट भएको अनुमान गरिएको छ ।
यद्यपी क्षतिको विवरण आउन सकेको छैन । आगो नियन्त्रणमा खटिएका सुरक्षाकर्मी तथा स्थानीय वासिन्दाले गोदाममा रहेका सामग्री जोगाउने प्रयास गरेका थिए ।