बैतडी – चितुवाले १३ जनाको ज्यान लिएपछि एक हप्तादेखि परिचालन भएको सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले अझै चितुवा फेला पार्न सकेको छैन। चितुवाले श्रृङ्खलाबद्ध रूपमा आक्रमण गरेर बालबालिकाको ज्यान लिन थालेपछि परिचालन गरिएको नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले कुनै उपलब्धि हात पार्न सकेको छैन।
सीमा चौकीलाई आधार बनाएर पाँच ठाउँबाट परिचालन भएको सशस्त्र प्रहरीले जङ्गलमा राति एम्बुस थाप्ने, बाख्रा तथा कुकुर राखेर पासो थाप्नेलगायत गतिविधि गरिरहेको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमप्रसाद पाण्डेयले बताए।
विशालपुर, आम्चौरालगायत गाविसमा राति चितुवा गर्जेको आवाज सुनिए पनि हतियारसहितका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले भने फेला पार्न नसकेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी हरिराज विष्टले बताए।
शैलेश्वरी गण झलारी कञ्चनपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक पाण्डेयको नेतृत्वमा ४५ जना र जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक नयन साउदको नेतृत्वमा खटिएको ३२ जनाको टोली तथा रणसुर गुल्म बैतडीबाट ३९ जना नेपाली सेनाको टोली बैतडीको तल्लो स्वराडमा परिचालन भएको थियो। हप्ता दिनसम्म पनि चितुवा फेला नपरेपछि नेपाली सेनाको टोली आइतबार बैतडी सदरमुकामस्थित गुल्ममा फर्किएको छ भने सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली विशालपुर, आम्चौरा, महाकाली, पञ्चेश्वरलगायतका गाविसमा परिचालन भएको छ।