तालिवानी बिद्रोहीको गोली प्रहारबाट घाइते भएकी पाकिस्तानी मलाला युसुफजईलाई उपचारका लागि बेलायतमा


 

पाकिस्तान । तालिवानी बिद्रोहीको गोली प्रहारबाट घाइते भएकी अन्तराष्ट्रिय शान्ति पुरस्कारका लागि मनोनित पाकिस्तानी किशोरी मलाला युसुफजईलाई थप उपचारका लागि बेलायत लगिएको छ । पाकिस्तानी चिकित्सक बोर्डको निर्णयपछि मलालालाई थप उपचारका लागि एअर एम्बुलेन्सबाट बेलायत लगिएको हो ।

 

यसअघि उनको टाउकोको सफल शल्यक्रिया गरिएको थियो । पाकिस्तानमा शिक्षाको अभियानमा सक्रिय रहेकी १४ बर्षीया मलालालाई केही दिनअघि बिद्यालयबाट घर फर्कने क्रममा तालिवानी विद्रोहीले गोली हानेका थिए ।


तालिवानले धर्म निरेपेक्षताको पक्षमा लागेको भन्दै मलालालाई आक्रमण गरिएको जनाएको थियो । मलालाले सन् २००९ मा ११ बर्षको उमेरमा नै तालिवानको छायाँमा रहेको जिन्दगी शीर्षकमा डायरी लेखेकि थिईन् । सोही डायरीका लागि उनलाई अन्तर्राष्ट्रिय शान्ति पुरस्कारका लागि मनोनयन गरिएको हो । मलालाको स्वास्थ्यलाभको कामना गर्दै पाकिस्तानभर प्रार्थना गरिएको छ । ठूलो संख्यामा पाकिस्तानीहरुले मलालाको स्वास्थ्य लाभको कामना गर्दै प्राथना गरेका हुन् ।

 

– Agencies