काठमाडौं । राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री डा. बाबुराम भट्टराईवीच देशमा जारी राजनीतिक संकट समाधानबारे आपसमा मिलेर चाँडै समाधान खोज्ने सहमति भएको छ । देशमा संकट गहिरिदै जाँदा राष्ट्रपतिबाट कडा अभिब्यक्ति आउन थालेपछि प्रधानमन्त्री भट्टराई छलफल गर्न शीतल निवास पुगेका थिए ।
राष्ट्रपतिले सोमबार संविधानसभा पुनःस्र्थापना हुन नसक्ने र वर्तमान सरकारले समस्याको समाधान पनि दिन नसक्ने भन्दै नयाँ निर्वाचनमा जान सार्वजनिक अभिब्यक्तिमार्फत दलहरुलाई सुझाव दिएका थिए ।
आज शीतल निवासमा भएको झण्डै तीन घण्टा लामो छलफलमा राष्ट्रपतिसँग द्धन्द नबढाउने सहमति भएको प्रधानमन्त्री भट्टराईले जानकारी दिए ।
देशमा जारी राजनीतिक संकट समाधान गर्न असफल भएका राजनीतिक दलहरुलाई राष्ट्रपति डाक्टर यादवले फेरि छलफलमा बोलाएका छन् । असोज महिना भित्र सहमति गर्ने साझा प्रतिबद्धता ब्यक्त गरेका दलहरु त्यसमा पनि असफल भएपछि निर्णायक कुराकानी गर्न राष्ट्रपतिले आमन्त्रण गरेका हुन् ।
कार्तिक ३ गते हुने छलफलमा राष्ट्रपतिले दलहरु सहमति कायम गर्न असफल भएकाले आफुले अघि सार्ने विकल्पमा सहमत हुन आग्रह गर्ने स्रोतले बताएको छ ।