भत्ता अनियमितता गर्ने गाविस सचिवलाई जिम्मेवारीबाट हटाइयो

जिल्ला विकास समिति इलामले लोपोन्मुख लाप्चा समुदायको भत्ता अनियमितता गर्ने समालबुङका गाविस सचिव बाबुराम ढकाललाई जिम्मेवारीबाट हटाएको छ। जिल्ला विकास समितिले सामाजिक सुरक्षा भत्ता वितरणको फाइल जिल्लामा झिकाएर ढकालमाथि अनुसन्धान थालेको छ।
सचिव ढकालले लेप्चा समुदायका लागि आएको रु चार लाख ३० हजारभन्दा बढी रकम हिनामिना गरेको बताइएको छ। लाप्चाहरूले पाउने अघिल्लो आवको सामाजिक सुरक्षा भत्ता अनियमितता गरेको विमल लाप्चाले बताए।

विवाह गरेर अन्यत्रै गइसकेका, मृत्यु भएका र विदेश गएकाको रकम सचिव ढकालले हिनामिना गरेका हुन्। विवाह गरेर अन्यत्रै गएका समालबुङका आठजनाको अझै भत्ता आइरहेको छ। सरकारले आर्थिक वर्ष २०६८/६९ देखि लोपोन्मुख लाप्चालाई प्रतिव्यक्ति मासिक एक हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ।

 
गाविसमै बसोवास गरिरहेका सातजनाले अझैसम्म एकपैसा पनि प्रोत्साहन रकम नपाएको गुनासो गरेका छन्। गाविस कार्यालयमा एक हप्ताअघि स्थानीयस्तरमै भएको सार्वजनिक सुनुवाइमा गाविस सचिव ढकालले रकम अनियमित गरेका लेप्चा समुदायका बासिन्दाले आरोप लगाएका थिए। सचिवले विदेश गएका १९ जनाको भत्ता पनि भर्पाई बनाएर आफैँ बुझेका छन्। उनीहरूको अघिल्लो वर्षको अन्तिम किस्ताको छ हजारका दरले रु एक लाख १४ हजार सचिव आफैँले बुझेका हुन्।

ढकालले लोपोन्मुख लाप्चा समदायको सुरक्षा भत्ता हिनामिना गरेको भन्दै गाउँलेले एकसाता अघि गाउँ विकास समितिको कार्यालयमा तालाबन्दी गरेका थिए। स्थानीय राजनीतिक दलका प्रतिनिधि, लाप्चा उत्थान मञ्चका प्रतिनिधि, जिविसबाट अनुगमनका लागि गएको टोली र स्थानीय बासिन्दाबीच भएको सर्वपक्षीय भेलामा गाविस कार्यालय खोलेर कामकाज सञ्चालन गर्ने सहमति भएपछि सातादिनदेखि लगाइएको ताला खुलेको छ।
गाविस सचिव ढकालले प्रोत्साहन भत्ता हिनामिना गरेको स्वीकारेका छन्।

जिविसबाट सामाजिक सुरक्षा भत्ता अनुगमन तथा निरीक्षणका लागि समालबुङ गएको टोलीले श्रीअन्तु र पशुपतिनगर गाविसमा पनि भत्ता वितरणको अनुगमन गर्ने जनाएको छ।

 

 

Source:Rss