बाघ संरक्षणबारे १३ वटा मुलुकका वन र वातावरण मन्त्रीस्तरीय सम्मेलन भुटानको थिम्पुमा हुने

काठमाडौं   – बाघ संरक्षणबारे १३ वटा मुलुकका वन र वातावरण मन्त्रीस्तरीय सम्मेलन कात्तिक ४ देखि ८ सम्म भुटानको थिम्पुमा हुने भएको छ ।


सम्मेलनमा नेपालबाट वनमन्त्री यदुवंश झा, वन मन्त्रालयका सहसचिव हरिहर सिग्देल, वन विभागका महानिर्देशक ब्रजकिशोर यादव, राष्ट्रिय निकुञ्ज विभागका इकोलोजिस्ट महेश्वर ढकाल र बाघ संरक्षणमा काम गरिरहेको डब्लुडब्लुएफ नेपालका शिवराज भट्ट सहभागी हुनेछन् ।


सम्मेलनमा विश्व बैंकका उच्च अधिकारी, बाघ संरक्षणमा काम गर्ने संघ संस्था, विशेषज्ञ, दातृ निकायलगायतको सहभागिता रहनेछ । भुटान सरकारको आयोजनामा हुने उक्त सम्मेलनलाई विश्व बैंकअन्तर्गतको ‘बाघ बचाउ पहल’ (ग्लोबल टाइगर इनिसियटिभ) ले सघाएको छ । बाघ संरक्षणबारे बाघ पाइने मुलुकका वन/वातावरण मन्त्रीहरूको यो दोस्रो सम्मेलन हो । पहिलो सम्मेलन थाइल्यान्डमा भएको थियो । 


रसियाको पिटर्सबर्गमा २०१० मा भएको बाघ पाइने मुलुकका राष्ट्र प्रमुखहरूको सम्मेलनले बाघ संरक्षणका लागि ‘ग्लोबल टाइगर रिकोभरी प्रोग्राम’ (जीटीआरपी) घोषणा गरेको थियो । त्यही कार्यक्रमबारे मूल्यांकन गर्न र बाघ संरक्षणमा भइरहेका गतिविधिबारे चर्चा गर्न सम्मेलन हुन लागेको हो ।


बाघ संरक्षणका लागि सेन्ट पिटर्सबर्गमा जारी गरिएको १२ वर्षे रणनीतिबारे पनि छलफल हुनेछ ।


सम्मेलनमा २०१० देखि बाघ संरक्षणमा अहिलेसम्म भएका प्रगति र उपलब्धिबारे बाघ पाइने सबै मुलुकले अनुभव सुनाउनेछन् । सम्मेलनमा बाघ संरक्षणमा देखिएका मुख्य चुनौतीहरू वासस्थान सुधार/संरक्षण, संरक्षण क्षेत्रको व्यवस्थापन, अवैध व्यापार नियन्त्रणलगायतमा केन्दि्रत हुनेछ । नेपालमा चितवन निकुञ्जमा एक सय २५, बर्दियामा ३७, शुक्लाफाँटामा १० र पर्सा वन्यजन्तु आरक्षमा चार वयस्क बाघ छन् । विश्वमा प्राकृतिक वासस्थानमा करिब तीन हजार दुई सयको हाराहारीमा बाघ छन् ।

 

– RSS