‘चाडपर्वको समयमा पुरानो गानो (एसीडीटी) को समस्या बढ्ने गरेको देखिने गरिएको छ,’ पेट रोग विशेषज्ञ डा.प्रदीप यादव भन्छन्, ‘यसको प्रमुख कारण अनियमित र बढी मात्रामा खानपान, चिल्लो, रक्सी आदिले हो ।’ गानोका पुराना रोगीहरूले भने यो समयमा संयम अपनाउनु नै राम्रो हुने चिकित्सकहरू सुझाउँछन् ।
यस्तो बेला अपच भई झाडा-पखालाको समस्या समेत बढी देखिने गरेको छ । यसो हुनुको मुख्य कारण बढी मात्रा र बासी मासु उपयोग गर्नु हो । मासु सकेसम्म ताजा नै प्रयोग गर्नुपर्ने बताउँदै डा.यादव यसको भण्डारण गर्दा समेत विशेष ध्यान दिनुपर्ने बताउँछन् । दसैं-तिहारताका कुहिएको, संक्रमित खाद्य पदार्थले सबैभन्दा बढी फुड पोइजनिङ हुने गरेको वीर अस्पतालका लिभर युनिटका प्रमुख प्रा.डा.अनिलकुमार मिश्र बताउँछन् । ‘१० दिन पहिलेको मासु समेत खाने गरिन्छ, बासी खानेकुरा, प्रसाद, चरणामृतको नाउँमा जथाभावी खाद्य खाँदा विषाक्तताको सिकार हुने गरेको हो,’ डा.मिश्र बताउँछन् ।
यो समय पित्तथैलीको संक्रमण समेत बढी देखिने गरेको छ । दसैं-तिहारताका खानपानले गर्दा पित्तथैलीको संक्रमण अर्थात् कोलिसिस्टाइटिस देखिन्छ । ‘थुप्रै व्यक्तिलाई आफ्नो पित्तथैलीमा भएको पत्थरी थाहा हुँदैन,’ डा.यादव भन्छन्, ‘हाल धेरै व्यक्तिको पित्तथैलीमा पत्थरीजस्तो समस्या देखिएको छ ।’ चिल्लो खाना खाँदा पित्त बढी मात्रामा निस्कनुपर्छ । पित्तले चिल्लोलाई पचाउँछ । पित्त निस्किन पित्तथैलीलाई हल्लिनु र खुम्चिनु समेत पर्छ । ‘चिल्लो बढी सेवन गर्दा पित्तथैली बढी चल्छ यसले थैलोमा भएको पत्थरी पनि यता-उता जान्छ,’ डा.यादव भन्छन्, ‘हल्लाइले गर्दा पित्तथैलीमा भएको ढुंगाले पित्त निस्किने बाटोमा अवरोध उत्पन्न गर्दा पित्त बाहिर निस्किन नपाई थैली सुन्निएर संक्रमण हुन्छ ।’ यसमा आकस्मिक शल्यक्रिया गर्नुपर्ने स्थिति समेत आउँछ । ‘पाचनका लागि पित्तको दैनिक श्राव हुने क्षमताभन्दा बढी मासु लगायत खाद्य पदार्थ, भोजभतेर र प्रसादको नाउँमा बढी मात्रामा सेवन गरेपछि पित्तको क्षमताभन्दा बाहिर गई झाडा-पखालाको समस्या समेत उत्पन्न हुन्छ,’ डा.मिश्र बताउँछन् । पाचन ग्रन्थीको समस्या समेत यो समयमा बढी देखिने गरेको छ । यो समय धेरै बढी मात्रामा रक्सी र चिल्लो सेवन गर्नेहरूमा प्यानक्रियाटाइटिसको समस्या देखिने गरेको हो । यो विभिन्न प्रकारले प्रस्तुत हुन्छ । रक्तश्राव हुने र नेक्रोटाइजिङ प्रकृतिको एक्युट प्यानक्रियाटाइटिसको सुन्नाइ भयो भने आईसीयूमा मात्र उपचार सम्भव हुन्छ । डा.मिश्रका अनुसार यसमा करिब ८० प्रतिशत बिरामीको मृत्यु हुने सम्भावना हुन्छ ।
यसमा पाचनग्रन्थी -प्यानक्रियाज) सुन्निन्छ, बिरामीको बेस्सरी पेट दुख्छ, बान्ता हुन्छ, पाचन ग्रन्थीमा पिप समेत जम्न थाल्छ र तत्काल शल्यक्रियाको समेत आवश्यकता हुन सक्छ ।
‘कलेजो रोग भएकाहरूले रक्सी, रातो मासु र बढी मात्रामा प्रोटिनबाट बच्ने प्रयास गर्नुपर्छ,’ डा. मिश्र भन्छन्, ‘दसैं तिहारको अनियमित खानपानपछि अल्कोहलिक हेपाटाइटिस, अल्कोहलिक इन्सेफेलोप्याथी -कमा) लगायतका समस्या बढी देखिने गरिएको छ ।’
यस्तै पहिलेदेखि नै पेप्टिक अल्सर भएकाहरूलाई रक्सी सेवनले अल्सर फुटेर रक्तश्राव हुन सक्छ भने रोगीको मृत्यु वा कमामा समेत जान सक्छ । यस्ता समस्यामा आन्द्राबाट रक्त श्राव, कालो दिसा र रगत बान्ता हुने समस्या देखिने गरेको डा.मिश्र बताउँछन् ।
यस्तै, दसैंताका ‘होली डे हार्ट सिन्ड्रोम’ को समस्याले अस्पताल पुग्नेहरू धेरै रहने नेपाल हर्ट फाउन्डेसनका अध्यक्ष एवं मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी बताउँछन् । यो रोग अन्तर्गत मुटुको धड्कन छिटो हुन्छ । हर्ट फेल पनि हुन सक्छ । बिदाको बेला प्रशस्त खानपिन, रक्सी, चिल्लो, कम व्यायाम, धूमपानले गर्दा मुटुको चाल बढेर बिनातालको हुने समस्या देखिने गर्छ । यो समस्याको मुख्य कारण भने रक्सी रहेको
डा.रेग्मी बताउँछन् ।
खानपानले गर्दा यो मौसममा युरिक एसिड बढेर बाथको समस्या समेत आउने डा. रेग्मी बताउँछन् । यो समय बढी मात्रामा उपयोग गरिने रक्सी र मासुले युरिक एसिड बढाउँछ । यसले गर्दा बाथको समस्या हुन्छ । खुट्टाको बुढीऔंलाको जोर्नी र कसैकसैलाई हातको बुढीऔंलाको जोर्नीमा अत्यन्त असह्य दुखाइ हुने उल्लेख गर्दै डा.रेग्मी भन्छन्, ‘यो समस्याले ज्यान खतरामा नभए पनि दुखाइ धेरै बढी हुन्छ ।’
सुरक्षित खानपानको लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार नपकाएका खानेकुरा जस्तै माछा/मासु आदिमा हानिकारक सूक्ष्म जीवहरू हुन सक्छन् । यी जीवहरू खाना तयार गर्दा अरू खानेकुरामा सर्न सक्छन् । नपकाएको माछा/मासु जस्ता खाद्य पदार्थ छुट्टै राख्नुपर्छ भने नपकाएको खानेकुराको निम्ति प्रयोग गरिने चक्कु, चपिङबोर्डजस्ता घरायसी समग्रीहरू छुट्टाछुट्टै प्रयोग गर्नुपर्छ ।
राम्रोसँग पकाउँदा हानिकारक जीवहरू प्रायजसो मर्छन् । डब्लुएचओका अनुसार ७० डिग्री सेन्टिग्रेडभन्दा बढीको तापक्रममा खाना तताएर खानाले हानि नहुने कुरा अध्ययनमा देखिएको छ । पोलेर, भुटेर तथा कम पकाएर खाने र ठूला आकारका चाँडै न पाक्ने खानालाई भने विशेष ध्यान दिनुपर्छ ।
दसैं-तिहारताका एकैपटक बढी मात्रामा खाद्य पदार्थ बनाएर यसलाई बिस्तारै खानका लागि राख्ने चलन समेत छ । सामान्य तापक्रममा भने खानालाई दुई घन्टाभन्दा बढी राख्नु हुँदैन । डब्लुएचओका अनुसार पकाएको तथा चाँडै बिगि्रने खानालाई ५ डिग्री सेन्टिग्रेड भन्दा कम तापक्रममा रेफ्रिजरेटरमा राख्नुपर्छ । यस्तै, ६० डिग्री सेन्टिग्रेड भन्दा तातो खाना खानुपर्छ । रेफ्रिजरेटरमा समेत खानालाई लामो समयसम्म राख्नु हुँदैन ।