– प्रेमनारायण आचार्य
अर्घा अर्घाखाँची १३ असोज । दशैं पूर्णिमाकै अवसरमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले अर्घाको रानीगैरामा आयोजना गरेको आमसभा तथा साँस्कृतिक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव सन्तबहादुर नेपालीले सरकारको वर्खास्तीको लागि आन्दोलनको कुनै विकल्प नभएको बताएका छन् । वर्तमान सरकारका कारण मुलुकको राष्ट्रियता नै खतरामा परेको बताउँदै सरकारको वर्खास्तीको लागि तत्काल आन्दोलनमा जाने बताए । नेपालीले माओवादीको बोली र व्यवहारमा एकरुपता नभएको बताउँदै पूर्ण बजेट पारित गरी सरकारको आयु लम्ब्याउनका लागि मात्रै माओवादी अध्यक्ष प्रचण्डले सहमतिको प्रपाच रचेको बताए ।
कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका कोषाध्यक्ष मनोज भट्टले नेपालमा संघीयताको कुनै औचित्य नभएको बताउँदै संघीयताले मुलुक टुक्राउन सक्ने चेतावनी दिए । माओवादीले विदेशी शक्ति केन्द्रको आडमा जातिवादी र मधेशी दलहरुको बुई चढी देशमा जाति जातिको बीचमा झगडा सृजना गरेको उनको भनाइ छ ।
भट्टले माओवादीको दोहोरो चरित्रका कारण मुलुकले निकास पाउन नसकेको बताउँदै एमाले र काँग्रेसलाई दरोसँग खुट्टा टेकेर अगाडि बढ्न समेत आग्रह गरे ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष झविलाल थापाको अध्यक्षता र सचिव थम्मन केसीको संचालनमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य सागर के.सी. अखिल नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष नरेन्द्रबहादुर थापा अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष कमल खनाल अनेरास्ववियु छैठौंका केन्द्रीय अध्यक्ष अनिल किशोर घिमिरे अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष शकुन्तला राना लगायतले मन्तव्य राख्दै राष्ट्रिय स्वाधिनताको पक्षमा आवाज उठाएका थिए ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।