अन्तत नेपाली कांग्रेसद्धारा नयाँ चुनावमै जानुपर्ने ठहर

काठमाडौं, । नेपाली कांग्रेसले नयाँ चुनावमै जानुपर्ने ठहर गरेको छ । नेपाली कांग्रेस केन्द्रीय समितिको बसेको बैठकले संविधानसभाको पुनःस्थापना सम्भव नरहेको निष्कर्ष पनि निकालेको छ । पार्टी कार्यालय सानेपामा बसेको बैठकमा अधिकांश केन्द्रीय सदस्यले चुनावमै जानुपर्ने राय दिएका थिए ।


वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललगायतले निर्वाचन र पुनस्र्थापना दुबै विकल्प खुल्ला गरेर जानुपर्ने प्रस्ताव गरेपनि अधिकांश सदस्यले चुनावमै जान जोड गरेपछि यस्तो निर्णय गरिएको हो ।


दुबै विकल्प खुला गर्नुपर्ने दुई नेताले प्रस्ताव गरेपनि सभापति सुशील कोइरालाले भने निर्वाचनबाहेक अरु विकल्पमा जान नसकिने अडान राखेपछि केन्द्रीय समिति निर्वाचनमा जाने निर्णयमा पुगेको हो ।


यसअघि केन्द्रीय समितिमा भएको छलफलका आधारमा महामन्त्री कृष्ण सिटौलाले निर्वाचन नै सबैभन्दा उपयुक्त विकल्प भएको भन्दै राजनीतिक प्रस्ताव पेश गरेका थिए ।


यो निर्णयसँगै कांग्रेस संविधानसभाको पुनस्र्थापनामा जाने सम्भावना सकिएको छ । बैठकको अन्तिम समयसम्म पनि पुनःस्थापनको विकल्प खुला गर्नुपर्ने अडानमा रहेपनि पुनःस्थापनाको विकल्प बन्द गर्ने निर्णयमा भने देउवा र पौडेलले नोट अफ डिसेन्ट लेखेका छैनन् ।


त्यस्तै बैठकले बैशाखभित्र संविधानसभा वा संसदको निर्वाचन, त्यो निर्वाचनका लागि नयाँ राष्ट्रिय सहमतिको सरकार गठन र निर्वाचनका विधि प्रक्रिया टुंगो गर्नका लागि दलहरुबीचको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ ।

 

– RSS