एमाओवादी र सत्तारूढ मधेसी मोर्चा एकतर्फीरूपमै मन्त्रिमण्डल विस्तार गर्दै बजेट ल्याउने तयारीमा

काठमाडौं – सत्तारूढ गठबन्धनले सहमति नभए मन्त्रिमण्डल विस्तारसहित एकतर्फीरूपमै भए पनि बजेट अगाडि बढाउने भएको छ । एमाओवादी र सत्तारूढ मधेसी मोर्चाको बुधबार बसेको बैठकले प्रमुख चार राजनीतिक शक्तिबीच बिहीबार हुने बैठकमा सहमति नजुटे मन्त्रिमण्डल विस्तार गरेर अघि बढ्ने निर्णय गरेको हो । आज (बिहीबार) एमाओवादी, कांग्रेस, एमाले र सत्तारूढ मधेसी मोर्चाको बैठक बस्दै छ ।


एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले गठबन्धनको बैठकले बजेट तयार पार्न सरकारलाई निर्देशन दिने निर्णय गरेको जानकारी दिए । ‘प्रमुख राजनीतिक दलबीच बिहीबार हुने शीर्ष बैठकको नतिजा हेरेर शुक्रबार फेरि गठबन्धनको बैठक बस्छ । सहमतिका लागि अधिकतम प्रयास गर्छौं,’ उनले भने, ‘सहमति भए त्यसको मर्मअनुरूप अघि बढिन्छ । नभए मन्त्रिमण्डल विस्तार गरेर अघि बढ्छौं ।’


मोर्चासम्बद्ध नेता तथा सञ्चारमन्त्री राजकिशोर यादवले पनि सहमतिका नाममा धेरै दिन पर्खन नसकिने बताए । ‘राष्ट्रिय सरकारका नाममा बजेट रोक्नै मिल्दैन । सरकारले बजेटको तयारी गरिरहेको छ, तिहारअघि नै राष्ट्रपतिसमक्ष पठाउूछौं,’ उनले भने, ‘थुप्रै मन्त्रालय खाली छन् । सरकारको दैनिक प्रशासन सञ्चालनमै अप्ठ्यारो भइरहेको छ । सहमति नभए मन्त्रिमण्डल विस्तार हुनेछ ।’


एमाओवादी प्रवक्ता सापकोटाले पनि तिहारअघि नै बजेट प्रस्तुत गरिने र त्यसलाई राष्ट्रपतिले रोक्न नमिल्ने बताए । ‘बजेट नहुँदा त अर्थतन्त्र नै खत्तम हुन्छ । त्यसैले सरकारले तयार पारेर पठाउने बजेट राष्ट्रपतिले रोक्नै मिल्दैन,’ उनले भने । गठबन्धनको बुधबारको बैठकमा मन्त्रिमण्डल विस्तारको मुद्दा पनि प्रमुखतासाथ उठेको थियो ।


एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बिहीबार प्रमुख दलबीच शीर्ष तहमा वार्ता हुन लागेकाले त्यतिन्जेल कुनै निष्कर्षमा पुगिहाल्नु उचित नहुने बताएका थिए । प्रवक्ता सापकोटाले गठबन्धनको बैठक सकिएको नभई स्थगितमात्र भएको जनाउूदै भने, ‘प्रमुख दलबीचको छलफलको नजिता हेरेर शुक्रबार बस्ने गठबन्धनको बैठकले आवश्यक निर्णय लिनेछ ।’ सत्तारुढ मधेसी मोर्चाका अध्यक्ष विजयकुमार गच्छदारलगायतका केही नेता अनुपस्थित भएकाले पनि बुधबार नै निष्कर्षमा नपुगिएको यादवले जानकारी दिए ।


एमाओवादी प्रवक्ता सापकोटाले सहमति हुन नसके शुक्रबारको गठबन्धनको बैठकले जनपरिचालन, जनसभालगायतका कार्यक्रम पनि बनाउने जानकारी दिए । ‘सहमतिका लागि हामीले जनपरिचालन, जनसभाका कार्यक्रम स्थगित गरेका थियौं । सहमति हुन नसके त कसको कारण त्यसो हुन सकेन भनेर जनतालाई वास्तविक कुराको जानकारी गराउनुपर्छ । त्यसैले जनपरिचालनका कार्यक्रम तय गरेर अघि बढ्छौं,’ उनले भने ।