अमेरिकी राष्ट्रपति बाराक ओबामाले स्याण्डी नामक समुन्द्री आँधीका कारण स्थगित चुनावी कार्यक्रम फेरि शुरु शुरु गरेका छन।
ओबामा यही नोभेम्बर ६ मा हुने राष्ट्रपति पदको चुनाव प्रचार नै स्थगित गरेर आँधी पीडितका घरआँगन पुगिरहनु भएको छ । रिपब्लिकन उम्मेदवार मिट रोम्नीले भने आफ्नो स्थगित चुनावी कार्यक्रम फ्लोरिडाबाट फेरि शुरु गरिसक्नुभएको छ ।
अमेरिकामा स्याण्डी नामक समुन्द्री आँधीमा परी मर्नेको संख्या ७० पुगेको छ । अर्बौअर्ब डलर बराबरको भौतिक क्षति भएको छ । धेरै मानिसको मृत्यु सडकका रुख ढलेर थिच्दा भएको खबर छ । सीएनएनका अनुसार १२ राज्यका ८० लाख जनता विजुलीबाट बंचित बनेका छन् भने न्यूयोर्कलगायतका शहर जलमग्न छन् । दैनिक ५० लाख मानिस ओहोदोहोर गर्ने न्यूयोर्कको मेट्रो सव वेमा पानी भरिएकाले आवागमन ठप्प भएको छ । स्याण्डीको कारण न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मूख्यालयसमेत बन्द भएको छ । न्यूयोर्कमा विजुली गडबडीका कारण ८० घर जलेर नष्ट भएको छ । हजारौंहजार हवाई उडान स्थगित गर्नुपरेको छ । आँधी प्रभावित राज्यहरुमा संकटकाल घोषणा गरिएको छ । आँधी उत्तरी अमेरिका र क्यानडातर्फ लागेको छ । अमेरिकामा रहेका नेपाली आँधीमा परे नपरेको बारे कुनै खवर प्राप्त भएको छैन ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले आँधी प्रभावित क्षेत्रको भ्रमण गरी वस्तुस्थितिको जानकारी लिनुभएको छ । यसक्रममा उहाँले न्यूजर्सी राज्यको भ्रमण गरी जनतालाई धैर्य गर्न आग्रह गर्दै सरकार पीडितहरुका साथमा रहेको आश्वासन दिनुभएको छ । दुःखका बेला ओबामा प्रशासनले गरेको सहयोगप्रति न्यूजर्सीका रिपब्लिकन गभर्नरले ओबामाको प्रशंसा गर्नुभएको छ । जबकी गभर्नर क्रिस क्रिष्टी ओबामाका कटू आलोचक मानिनुहुन्थ्यो । त्यसोत राष्ट्रपति ओबामाले पनि गभर्नर क्रिष्टी दिलैदेखि उद्धारमा जुटेको भन्दै प्रशंसा गर्नुभएको छ ।