न्यायाधीश रणबहादुर बम हत्याको छानबिन सिफारिसका कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयहरूमा पठाउने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं,  – सरकारले सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम हत्याको छानबिन आयोगले दिएको सिफारिसका बुँदा कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयहरूमा पठाउने निर्णय गरेको छ ।


बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयहरूमा पठाउने निर्णय गरेको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए । जेठ १८ गते हत्या भएका बमको हत्या सम्बन्धमा जाँचबुझ गर्न सरकारले पूर्वन्यायाधीश प्रेम शर्माको संयोजकत्वमा प्रेमराज कार्की र नरेश गुरुङ सदस्य रहेको उच्चस्तरीय आयोग गठन गरेको थियो । आयोगले बुधबार प्रतिवेदन बुझाएको थियो ।


मन्त्रिपरिषद् बैठकले न्याय सेवाको सरकारी वकिल समूह प्रथम श्रेणीको पदमा श्यामकुमार भट्टराई र रेवतीराज त्रिपाठीको बढुवा गरेको छ । कृषि सामग्री संस्थानका प्रबन्ध सञ्चालक पशुपति गौतमको राजीनामा स्वीकृत गरेको छ भने नायव प्रबन्ध सञ्चालक शशिराज तुलाधरलाई कामुको जिम्मेवारी दिइएको मन्त्री पुनले जानकारी दिए ।


मन्त्रिपरिषद् बैठकले सरकारी प्रति वन तथा अन्य जग्गाको स्वामित्व हस्तान्तरणबारे अध्ययन गर्न शिक्षा मन्त्रीको संयोजकत्वमा कार्यदल गठन गरेको छ । स्वास्थ्य मन्त्रालयको २८ जिल्ला अस्पताल संगठनात्मक संरचना स्वीकृत भएको मन्त्री पुनले जानकारी दिए ।


मन्त्रिपरिषद् बैठकले कात्तिक २० गतेदेखि प्रधान सेनापति गौरव शमसेर जबरा अस्ट्रेलिया भ्रमणमा जाने भएकाले भ्रमण अवधिभरका लागि रथी नेपाल भूषण चन्दलाई निमित्त प्रधान सेनापतिको जिम्मेवारी दिएको छ ।

 

– kantipur