काठमाडौं । उपकुलपति डा.संगीता भण्डारीको राजीनामा मागेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुले आज पनि एक घण्टा ओपिडि सेवा बन्द गरे । प्रतिष्ठानको बारेमा कुनै जानकारी नराख्ने भण्डारीलाई उपकुलपति नियुक्त गरिएको भन्दै प्रतिष्ठानका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले लामो समयसम्म अस्पतालमा कार्यरत अनुभवि ब्यक्तिलाई प्रतिष्ठानको जिम्मेवारी दिनुपर्नेमा सरकारले राजनीतिक आग्रह राखेर भण्डारीलाई नियुक्त गरेको आरोप लगाएका छन् ।
आन्दोलनरत कर्मचारीले आन्दोलनका कारण उपचारका लागि आएका विरामीहरुलाई कुनै बाधा नहुने दाबी समेत गरेका छन् । उपकुलपति भण्डारीको राजीनामा नआए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने आकस्मिक तथा बहिरङ्ग विभागका अध्यक्ष डा. भरतकुमार यादवले बताए ।