अमेरिका । विश्व महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकामा आज नयाँ राष्ट्रपति चुन्न मतदान भईरहेको छ।
अमेरिकाको ४५ औं राष्ट्रपति बन्ने दौडमा छन् वर्तमान राष्ट्रपति एवं डेमोक्रेटिक पार्टीका उम्मेदवार बाराक ओबामा र रिपब्लिकन पार्टीका उम्मेदवार मिट रोम्नी ।
अमेरिकी शक्ति र वैभवको एकमूष्ठ नेतृत्वस्थल ह्वाइटहाउसमा पुग्न बाजी कस्ले मार्ला भन्ने उत्सुकता विश्वभर छ । अघिल्ला राष्ट्रपतीय निर्वाचनमा भन्दा मत अन्तर झिनो हुने संभावना सर्वेक्षणहरुले देखाएपछि यो उत्सुकता बढेको हो ।
पपुलर र इक्लेटोरल भोटका लागि प्रतिस्पर्धामा दुवै उम्मेदवारले अमेरिकी अर्थतन्त्रलाई प्रमुख मुद्दा बनाएका छन् । मध्यम वर्गीय परिवार लक्षित चुनावी स्पर्धा जित्न ५ सय ३८ इलेक्टोरलमध्ये दुई सय ७० मत ल्याउनुपर्ने छ ।
अन्तिम समयको चुनावी तथ्यांक एवं सर्वेक्षणले जितका लागि ओबामालाई थप २७ मतको आवश्यकता देखाएको छ भने रोमनीलाई ६४ इलेक्टोरल मत चाहिने छ । थुप्रैं संस्थाहरुले गरेका मत सर्वेक्षणहरुमा रोम्नीभन्दा ओबामा एक प्रतिशतको हाराहारीमा मात्र अगाडी देखिएका छन् ।
फ्लोरिडा, ओहायो, आइवा, विस्कन्सिन, कोलोराडो, भजिर्निया र न्युहयाम्सायर जस्ता अनिर्णित राज्यका इलेक्टोरल कलेज जसले हात पार्न सक्यो त्यही उम्मेदवारले ह्वाइटहाउसका लागि बाजी मार्ने बताइएको छ । यी राज्यहरुबाट ८९ इलेक्टोरल मतको निर्णय हुनेछ । गोरा, वयस्क र धार्मिक समुदायमा रोम्नी तथा महिला, अश्वेत र युवा मतदाताबीच भने ओबामा लोकप्रिय रहेको जनाइएको छ । यता, स्याण्डी आँधीबाट अत्यधिक प्रभावित न्यूजर्सीका मतदातालाई इमेलबाटै मत दिन पाउने व्यवस्था मिलाइएको छ ।
यस पटकको निर्वाचनमा दुवै उम्मेदवारको लोकप्रियता बराबरजस्तै रहेकाले १० करोड मतदाता मध्ये आफ्ना बढीभन्दा बढी समर्थकलाई मतदान केन्द्रसम्म पु-याउन दुबै दल केन्द्रित छन् । अमेरिकी राष्ट्रपतिको चुनाव नोभेम्बरको पहिलो मंगलबार हुने प्रचलनअनुसार आज हुन लागेको हो । चार वर्षे कार्यकाल रहने उक्त पदमा नयाँ चुनिने राष्ट्रपतिको कार्यकाल भने सन् २०१३ को २१ जनवरीमा सपथ लिएसँगै सुरु हुनेछ ।