नवलपरासी । पूर्वराजा ज्ञानेन्द्र शाहले राज्य व्यवस्थाको एउटा आधार केन्द्र भएन भने राज्य पद्धती नै भताभुङ्ग हुने बताएका छन् । नवलपरासीको गोपालपुरस्थित महायोगी गुरु गोरक्षनाथको नवनिर्मित मन्दिरको उद्घाट्नपछि श्रद्धालुहरुलाई मञ्चबाटै लिखित सम्बोधन गर्दै पूर्व राजाले अदूरदर्शी नीति निर्णयहरुप्रति सवै सजग रहनुपर्नेमा जोड दिए ।
पूर्व राजा शाहले बाबा गोरखनाथको प्रेरणाबाटै आफ्ना पुर्खाले नेपाल राष्ट्रको एकत्व शक्तिको निर्माण गर्न सफल भएको ऐतिहासिक यथार्थलाई कसैले भुल्न नहुने स्मरण गराउँदै यस देशमा राज्य व्यवस्था एक निश्चित पद्धती र निर्णायक ढंगले चल्नुपर्ने बताए ।
विश्व हिन्दू महासंघ, अन्तर्राष्ट्रिय समितिको भारत शाखाले आयोजना गरेको कार्यक्रममा मन्दिरका पीठाधीश एवं भारतीय सांसद आदित्यनाथ लगायत भारतका हिन्दूवादी नेताहरु समेत कार्यक्रममा सहभागी थिए ।
कार्यक्रममा सहभागी हुन भैरहवाबाट मोटरबाटै नवलपरासी पुगेका पूर्वराजालाई झण्डै एक दर्जन स्थानमा सर्वसाधारणले भब्य स्वागत गरेका थिए । भैरहवाबाट नवलपरासी पुग्न उनलाई ३ घण्टा भन्दा बढी समय लागेको थियो ।