राष्ट्रपति यादवद्धारा संयुक्त राज्य अमेरिकाको राष्ट्रपति बाराक ओबामा राष्ट्रपति पदमा पुन:निर्वाचित भएकोमा बधाई


 

काठमाडौँ  – राष्ट्रपति रामवरण यादवले संयुक्त राज्य अमेरिकाको राष्ट्रपति बाराक ओबामा राष्ट्रपति पदमा पुनःनिर्वाचित भएकोमा बधाई दिएका छन्।

 

राष्ट्रपति यादवले आज पठाएको सन्देशमा राष्ट्रपति बाराकको कार्यकालको सफलताको कामनाका साथै उनको नेतृत्वमा अमेरिकी जनताले निरन्तर प्रगति गर्ने उल्लेख गरेका छन्।

सन्देशमा आगामी दिनमा नेपाल र अमेरिकाबीच रहँदै आएको सम्बन्ध अझ बृहत् र मजबुत हुने विश्वास व्यक्त गरेका छन्।


यसैगरी प्रधानमन्त्री बाबुराम भट्टराईले अमेरिकी राष्ट्रपतिमा ओबामा पुनःनिर्वाचित हुनुभएकोमा सरकार र नेपाली जनताको तर्फबाट खुसी व्यक्त गर्दै बधाई दिएका छन्।


उनले सन्देशमा नेपाल र अमेरिकाबीच आपसी विश्वास र मित्रताका आधारमा गहिरो सम्बन्ध रहँदै आएको र आगामी दिनमा पनि अझ सुदृढ भएर जाने विश्वास व्यक्त गरेका छन्।


यस्तै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदमा पुनःनिर्वाचित भएकोमा ओबामालाई बधाई तथा शुभकामना दिएका छन्।


नेता पौडेलले आज दिएको बधाई सन्देशमा राष्ट्रपति ओबामाको विजयसँग उनको नेतृत्वमा अमेरिकी जनता तथा अमेरिकाको उन्नति, प्रगति र समृद्धितर्फ अघि बढ्नेछ भन्दै राष्ट्रपति ओबामाको कार्यकालमा नेपाल र अमेरिकाबीच रहेको सम्बन्ध अझै सुदृढ र प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरेका छन्। रासस