कात्तिक २९ गते बुधबार कात्तिक शुक्ल प्रतिपदाका दिन बिहान गोवर्धन पूजा, गाई-गोरु पूजा तथा साँझ नेवार समुदायमा म्हः पूजा अर्थात् आत्मपूजा गरिन्छ । र अन्तिम दिन कात्तिक ३० गते भाइटीका लगाइन्छ ।
कात्तिक ३० गते मध्याह्न ११ बजेर २३ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ । यसदिन दाजुभाई, दिदीबहिनीले आपसी स्नेह, सत्कार तथा पूजा गरी भाइटीका मनाउँदा दाजुभाईको यश तथा आयु बढ्ने र उनीहरु सुखी तथा सम्पन्न हुने विश्वास गरिन्छ । वैदिक कालमा बलि राजाले आफ्नो राज्यभर झकिझकाउका साथ दीपावली गरेर विष्णुलाई खुसी तुल्याएकाले यमपञ्चकभर तीनै लोकको राज्यभोग गर्न पाउने बरदान पाएको तथा यस अवधिमा धनकी देवी महालक्ष्मीले सबैको घरमा बास गरी धनधान्यले पूर्ण पारिदिएको कथा पनि यो पर्वसँग जोडिएको छ ।