प्यालेष्टाइनी चरमपन्थी समूह हमासद्धारा इजरायलको राजधानी जेरुसेलममा अनेकौ रकेट प्रहार, दुवै पक्ष बीच भीषण युद्द जारी
मंसिर २ गते, २०६९ मा प्रकाशित
प्यालेष्टाइनी चरमपन्थी समूह हमासले शुक्रबार साँझ इजरायलको पवित्र शहर जेरुसेलममा दुइ वटा रकेट प्रहार प्रहार गरेको छ। दुवै वटा रकेट शहर बाहिर खसेकाले कुनै मानवीय क्षति भने भएको छैन । इजरायलको एक रेडियोले बताए अनुसार उक्त रकेट प्रहार प्रमुख शहर बाहिर खसेको थियो।
शुक्रबार साँझ साइरन बजे लगत्तै जेरुसेलम शहर बाहिर रकेट खसेको थियो । रकेट आक्रमणको जिम्मा हमासले लिएको छ । हमासद्वारा जेरुसेलममाथि भएको यो पहिलो आक्रमण हो । आक्रमणमा सुधारिएको कसाम रकेट (M-75 ) प्रहार भएका छन । दुइ मध्ये एक रकेट टकुवा नजिकैको मरुभूमिमा खसेको थियो भने अर्को रकेट गुश ईचियोनमा खसेको थियो ।
जेरुसेलममा भएको आक्रमणको एक घण्टा अगाडी तेल अभिभलाइ लक्षित गरेर गाजाबाट दुइ वटा रकेट आक्रमण भएका थिए, तर स्थानीयका अनुसार खतराको घन्टी सहित तेलअभिभमा एकमात्र रकेटको आवाज सुनेको बताए । यस क्रममा कुनै मानवीय क्षति भने भएको छैन । सो आक्रमणको जिम्मा पनि हमासले नै लिएको छ । बिहिबार तेल अभिभमा भएको हमलाको जिम्मेवारी ‘प्यालेस्टिनी इस्लामिक जिहाद’ले लिएको थियो ।
इजरायलका मुख्य शहरहरु बीरशेवा, आस्दोद र आस्केलोन साथै दक्षिणी भागका शहरहरुमा दिनभरी लगातार क्षेप्यास्त्र आक्रमण भैरहेका छन । त्यस क्षेत्रमा असंख्य घरहरु भत्किएका छन । बिहिबार र शुक्रबार इजरायलको केन्द्र तेल अभिभसम्म भएको रकेट आक्रमणले भिषण खतराको संकेत गरेको विश्लेषकहरुले जनाएका छन ।1990 को गल्फ वार पछि पहिलो पटक तेल अभिभमा वास्तविक खतराको साईरन बजेको हो ।
तेल अभिभ महानगरपालिकाले शुक्रबारदेखि बिभिन्न स्थानमा भएका सार्वजनिक बम शेल्टरहरु सर्वसाधारणको लागि खुल्ला गरेको छ ।
इजरायलको यो कदमसँगै गाजापट्टीमा सेनाको स्थल कारबाहीको सम्भावना बढेको छ । गत बुधबार इजरायली हवाई हमलामा गाजापट्टीमा शासन गर्दै आएको हमासका सैन्य प्रमुखको मृत्यु भएपछि इजरायल र हमासको सम्बन्ध तनावपूर्ण बनेको हो ।
हमास र इजरायलबीच तनाव बढेपछि इजरायलले आफ्ना जगेडा सैनिकहरूलाई कारवाहीका लागि बोलाएको छ ।
प्यालेष्टाइनी चरमपन्थी समूह हमासले इजरायलको मूख्य शहर तेल अभिभलगायतका स्थानमा रकेट प्रहार गरेपछि इजरायली रक्षामन्त्रालयले आफ्ना ३० हजार जगेडा सैनिकलाई कारवाहीका लागि बोलाएको हो ।
हमासको रकेट प्रहारबाट इजरायलमा तीन जनाको मृत्यु भएपछि इजरायलले पछिल्लो २४ घण्टामा गरेको कारबाहीमा एक शिशुसहित १९ प्यालेष्टाइनीको मृत्यु भएको छ ।
इजरायलले गाजापट्टीमा प्रहार गरेको सयौं रकेटले हमासको रक्षा मन्त्रालयमा समेत क्षति पुगेको छ । इजरायलले सन् १९९१ पछि पहिलो पटक आफ्ना नागरिकहरूलाई गाजापट्टीबाट सयौं रकेटहरू प्रहार हुने भन्दै सचेत रहन चेतावनी जारी गरेको छ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्युले हमासले आफ्नो भूमिमा रकेट प्रहार जारी राखे आवश्यक सबै कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।