अबको प्रधानमन्त्रीको उम्मेदवार स्वतन्त्र व्यक्तिलाई खोज्न नहुने प्रधानमन्त्री भट्टराईको भनाई

काठमाडौं  – प्रधानमन्त्री बाबुराम भट्टराईले स्वतन्त्र व्यक्तिलाई अबको प्रधानमन्त्रीको उम्मेदवार खोज्न नहुने बताएका छन् । एमाओवादीनिकट पत्रकारहरूसँग शनिबार बिहान कुराकानी गर्दै उनले दलका नेताहरू नै सक्षम भएको भन्दै स्वतन्त्र व्यक्ति खोज्दै हिँड्नु गलत भएको बताए ।


‘हामी बहुदलीय व्यवस्थामा छौं, राजनीतिक दल र तिनका नेताहरू राज्य चलाउन सक्षम छन्,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, ‘स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्रीको उम्मेदवार खोज्नु हुँदैन । त्यसो गरियो भने निर्दलीय व्यवस्थातिर फर्किएजस्तो हुन्छ ।’


एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नै स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव सार्वजनिक रूपमा राख्दै आएका बेला उक्त पार्टीका उपाध्यक्षसमेत रहेका प्रधानमन्त्रीबाट यस्तो भनाइ आएको हो । संविधानसभा विघटनको केही समयपछि दलहरूबीच सरकारबारे कुरा मिल्न नसके स्वतन्त्र व्यक्तिको नेतृत्वमा बनाउन सक्ने धारणा दाहालले सार्वजनिक गरेका थिए ।

 

– RSS