सन्दर्भ: १२ औं अन्तर्राष्ट्रिय चर्पी दिवस ! चर्पी र यससँग जोडिएका सवालहरु

– विनोद धौलागिरि


आज १९ नोभेम्बर, अन्तर्राष्ट्रिय चर्पी दिवस । ज्यादै कममात्र सुनिने गरेका दिवसमध्येको एक हो चर्पी दिवस । नेपालको सन्दर्भमा हेर्ने हो भने पनि चर्पी दिवस ज्यादै कममात्र मनाउने गरिन्छ । चर्पीलाई किन दिवसकै रुपमा मनाउनु पर्‍यो  भन्ने बारेमा छलफल गर्नुअघि चर्पी के हो र यो किन आवश्यक छ भन्ने विषयमा छलफल गर्नु आवश्यक हुन्छ ।

 

चर्पी के हो ?


चर्पी भनेको दिसालाई व्यवस्थित रुपमा बिसर्जन गर्नका लागि बनाइएको स्थान हो । चर्पीमा दुई भाग हुन्छन् । चर्पीको जमिनमुनीको भागलाई घृणाबाट बचाउने र स्वास्थ्य जोगाउने भागको रुपमा लिइन्छ भने माथिल्लो भागलाई इज्जत जोगाउने भागको रुपमा लिइन्छ । जमिनमुनिको भागमा दिसा जम्मा हुन्छ । दिसा भनेको फोहर बस्तुमात्र होइन, वर्षमा लाखौं बालबालिकाको ज्यान लिने ब्याक्टेरिया र भाइरसको मुहान पनि हो । यो दूर्गन्ध, घृणा र तिरस्कारको संकेत पनि हो ।

जमिनमाथिको भागले व्यक्तिलाई इज्जतिलो रुपमा रहन सघाउँछ । सधैंभरि लाज र सर्म लाग्ने भनेर छोपेर राखिएका शरीरका अंगहरुलाई दिसा पिसाव गर्ने समयमा अरुका सामु ह्वाङ्गै देखाउनु पर्दैन चर्पी भएमा । त्यसैले पनि चर्पीको माथिल्लो भागलाई इज्जत र प्रतिष्ठानको बस्तुको रुपमा लिइन्छ ।


सन् १९७२ मा ढल निकास विभागको गठन र सन् १९८० मा चर्पीका लागि अनुदान दिने कार्यको थालनीसँगै चर्पी भन्नासाथ पक्की संरचना भन्ने मानसिकताले नेपाली जनतालाई गाँज्यो । त्यसैले खुवी हुने नेपालीहरुले समेत चर्पी भन्नासाथ सरकार र विकासे संघसंस्थाले दिने अनुदान पर्खिइरहे । वास्तवमा चर्पी भनेको सुरक्षित र सभ्य आनिवानीको संकेत हो, स्वस्थ आनिवानीको सूचक हो भन्ने कुरा प्रत्येक नेपालीको मानसपटलमा पर्नु आवश्यक छ ।


चर्पीको आवश्यकता


चर्पी दिसा लुकाउनका लागि र इज्जत जोगाउनका लागि मात्र आवश्यक भएको होइन । नेपालमा शौचालय नभएकै कारण वा शौचालयमा सुरक्षित रुपमा दिसा गर्ने वानी नभएकै कारण सरसफाइजन्य रोगबाट प्रतिवर्ष ५ वर्ष मुनिका १० हजार ५ सय बालबालिकाको मृत्यु हुन्छ । विश्वको तथ्यांक हेर्ने हो भने, विश्व स्वास्थ्य संगठनका अनुसार प्रतिवर्ष १४ लाख बालबालिका खुल्ला ठाउँमा गरिएको मानव मलमूत्रकै कारण मारिन्छन् । ग्लोबल स्यानिटेशन क्राइसिस लेखमा लेखिका जिना डेभिज लेख्छिन् कि विश्वमा २.६ बिलियन मानिस अहिले पनि खुल्ला ठाउँमा दिसा गर्छन् । विश्व शौचालय संगठनका अनुसार अहिले पनि विश्वका ४० प्रतिशत मानिस खुल्ला ठाउँमा अर्थात् असुरक्षित रुपमा दिसा गर्दछन् । ग्रामीण इलाकामा ३३ प्रतिशत मानिस अहिले पनि खुल्ला ठाउँमा नै दिसा गर्दछन् भने सुरक्षित शौचालय भएकाबाहेकका अन्यले असुरक्षित शौचालयमा दिसा गर्दछन् । प्रतिवर्ष २०० टनभन्दा बढी मानव दिसा हानिकारक अवस्थामै यत्रतत्र छरिन्छ । विश्व शौचालय संगठनको तथ्यांक अनुसार विकासशील देशमा खुल्ला ठाउँमा हुने मानव मलमूत्रमध्ये ९० प्रतिशत नदी, ताल, पोखरी लगायतका खुल्ला पानीका श्रोतमा मिसिन्छ ।

खुल्ला ठाउँमा दिसा गर्ने प्रचलनका कारण सो दिसा पानी, हावा, जीवजन्तु, कीटपतंग, सागपात आदिको माध्यमबाट मानिसको मुखसम्म आइपुग्छ । फोहर छोएपछि, खाना खानुअघि, दिसा धोएपछि, खेतबारीमा काम गरेपछि, विरामीको स्याहार गर्नुअघि, केटाकेटीको हेरचाह गर्नुअघि साबुन पानीले राम्ररी हात धुने वानी नगर्दा पनि मानव दिसा मान्छेको मुखमा पर्दछ । मानव दिसामा २३४ किसिमका जीवाणु, विषाणु र अन्य हानिकारक कीटका अण्डाहरु पाइन्छन् । यसमध्ये कोलिफार्म, साल्मोनेला र क्रिप्टोसपोरिडियोम सबैभन्दा धेरै पाइन्छन् । यसबाहेक गोलो जुकाका अण्डाहरु मानव दिसामा नै रहेका हुन्छन् । यस्तै पोलियो भाइरस, हेपाटाइटिस भाइरस लगायतका विषाणु समेत मानव दिसामा रहेका हुन्छन् ।


सरसफाइजन्य रोगको उपचारमा मात्र नेपालमा वर्षेनी १४ अर्ब रुपैयाँ खर्च हुन्छ भने १० अर्ब रुपैयाँ औषधी र औषधीजन्य पदार्थको आयातका लागि नेपालबाट बाहिरिन्छ । घरमा शौचालय नभएका कारण खुल्ला ठाउँमा दिसा गर्न जाँदा नेपालमा वर्षेनी ६ दर्जनभन्दा बढी बालबालिका जंगली जनावर र जीवहरुको आक्रमणमा मारिन्छन् । खुल्ला ठाउँमा दिसा गर्न जाँदा हुने बलात्कार, यौनजन्य हिंसाका घटना सञ्चार माध्यमबाट समेत सार्वजनिक भैरहेका हुन्छन् । खुल्ला ठाउँमा दिसा गर्ने नेपालीको वानीका कारण विदेशमा समेत नेपालीहरुले हैरानी व्यहोरिरहनुपरेको छ । अघिल्लो वर्षमात्र हाइटीमा नेपाली सेनामाथि खुल्ला ठाउँमा दिसा गरेर हाइटीबासीलाई हैजा फैलाएको आरोप लाग्यो । यहाँभन्दा ठूलो अन्तर्राष्ट्रिय बेइज्जति के हुन सक्छ ?


चर्पी भएमा मानव स्वास्थ्यमा फाइदा हुनेमात्र होइन, अपांग, वृद्धवृद्धा तथा केटाकेटीहरुलाई दिसा पिसाव गर्न समेत सजिलो हुन्छ । परिवारको इज्जत जोगिन्छ, गाउँको इज्जत र सम्मान बढ्छ । घामपानी, हावाहुरीमा समेत सुरक्षित रुपमा दिसा गर्न पाइन्छ । वर्षेनी सरसफाइजन्य रोगका कारण विरामी पर्नुपर्ने अवस्था आउँदैन र उपचारमा खर्च गर्ने पैसाको बचत हुन्छ । परिवारको उपचारमा लगानी गर्ने पैसा पोषण र शिक्षामा लगानी गर्न सकिन्छ । सुरक्षित रुपमा गरिएको दिसालाई कुहिएपछि मलको रुपमा प्रयोग गर्न सकिन्छ । शौचालयमा बायो ग्यास प्लाण्ट जोडी इन्धनको रुपमा प्रयोग गर्न सकिन्छ । सबैभन्दा ठूलो कुरा त, आफ्नो घरका दिदी बहिनी, आमा, श्रीमती, छोरी बुहारीहरुको इज्जत जोगिन्छ । उनीहरुलाई दिसा गर्न जाँदा प्रत्येक पटक इज्जतलाई लिलामीमा राख्नुपर्ने वाध्यताबाट मुक्ति दिन सकिन्छ ।


चर्पी दिवसको थालनी


नेपालमा सन् १९८० मा २ प्रतिशत नेपालीको शौचालयमा पहुँच थियो । यो पनि सहरमा केन्द्रित थियो । त्यसपछिका दिनहरुमा शौचालय निर्माणका लागि अनुदान दिन थालियो । यस क्रममा शौचालय निर्माणको दर गुणात्मक रुपमा वृद्धि हुन सकेन । शौचालय निर्माण हुने क्रम एकातर्फ धिमे गतिमा अघि बढ्यो भने अर्कोतर्फ शौचालय प्रयोग गर्नका लागि बनाइएन, अनुदान लिन र देखाउनका लागि बनाइए । बाहिरै दिसा गर्ने वानीमा फेरबदल आएन, सरसफाइजन्य रोगका कारण निम्तिने समस्यामा कुनै कमी आएन ।

विश्वमा हेर्ने हो भने पनि अवस्था उस्तै रह्यो । तान्जानियाजस्ता विपन्न देशमा शौचालय प्रयोग गर्नेहरुको संख्याभन्दा मोबाइल प्रयोग गर्नेहरुको संख्या बढी छ । नेपालमा समेत शौचालय हुने घरधुरीको संख्याभन्दा मोबाइल प्रयोगकर्ताको संख्या बढी रहेको छ ।


शौचालयका लागि अनुदान दिन थालिएपछि एशियाका नेपाल, भारतजस्ता देशमात्र होइन, ल्याटिन अमेरिकी र अफ्रिकी देशहरुमा समेत चर्पीका लागि अनुदान पर्खिने वानीका कारण ठूलो आर्थिक र मानवीय क्षति व्यहोर्नु परिरहेको छ । बीसौं हजार रुपैयाँको मोबाइल सेट, लाखौंको मोटरसाइकल प्रयोग गर्नेले समेत चर्पीका लागि अनुदान पर्खिइरहन्छन् ।


चर्पी वास्तवमा मानव स्वास्थ्यको विषय हो, सरसफाइ जनताको स्वास्थ्यको विषय हो, इज्जतको विषय हो, प्रतिष्ठा र गौरवको विषय हो । यो जनस्वास्थ्य र जनप्रतिष्ठाको विषयको रुपमा उठान गरिनुपर्छ र अभियानको रुपमा लैजानुपर्छ भन्ने अभिप्रायले ज्याक सिमले सन् २००१ मा विश्व शौचालय संगठनको स्थापना गरेका हुन् । अहिले यस संगठनका १५१ सदस्य संस्था रहेका छन् भने विश्वका ५३ देशमा यस संगठनको सञ्जाल विस्तार भएको छ ।


सन् २००१ देखि नै विश्व शौचालय संगठनले शौचालय सम्मेलन गर्न थालेको हो । सन् २००१ देखि नै संगठनले १९ नोभेम्बरलाई विश्व चर्पी दिवसको रुपमा मनाउन थालेको हो ।


चर्पी बनाऔं, भिखारी बन्न छोडौं


नेपालमा, शौचालय निर्माण र प्रयोगको कुरा गर्नासाथ अनुदानको माग आउँछ । के नेपाली साँच्चीकै गरिब छन्, जसले आफूले खान सक्छन्, तर थान्को पारेर दिसा गर्न सक्तैनन् ? आफ्नो घर आफै बनाउन सक्छन्, तर एक पैसा खर्च नगरीकन, आफ्नै मेहनत र स्थानीय सामग्री प्रयोग गरी सुरक्षित शौचालय बनाउन सक्तैनन् ? औषधीमूलो, चाडपर्व, मेलापात, विहे, व्रतमन, भोज सबै आफै गर्न सक्नेले दिसा गर्ने खाल्डो खन्नका लागि अरुका सामु ङिच्च हात फाल्छन् र भन्छन् : हजूर दान चाहियो । एक हातले नोकिया ७२०० सेटबाट विदेशमा रहेको छोरासँग कुरा गर्दै अर्को हातले झारले गुहु पुच्छन् नेपालीहरु । मोटरसाइकल चढेर नदीका छेउमा दिसा गर्न जान्छन् नेपालीहरु । खाना अर्थात् भोजन जीवनका लागि सबैभन्दा आवश्यक चिज हो । खानाका लागि कहिल्यै दान मागेन नेपालीले । दशैं, तीहार, तीज, क्रिसमस, इद, रामजान, बुद्ध पूर्णिमा, माघे सक्रान्ति मनाउनका लागि कहिल्यै हात थाप्दैन नेपाली । राज्यले निःशुल्क प्रदान गर्ने औषधीहरु स्वास्थ्य संस्थाबाट न&am