काठमाडौं । प्रमुख तीन दलका नेताहरुले आज बेलुकासम्म राजनीतिक गतिरोधमा सहमति खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रपति भवन शितल निवासमा भएको मधेशी मोर्चासहितका तीन दलका शीर्ष नेताहरुको बैठकले राजनीतिक गतिरोध अन्त्यका लागि मंसीर ७ सम्मको समय दिएपछि आजै बेलुका तीन दलका शिर्ष नेताको बैठक बस्ने सहमति भएको हो ।
बैठकमा राष्ट्रपति यादवले मुलुकको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै मंसीर ७ सम्म सहमतिमा नपुगे आफूले सहमतिका लागि औपचारिक आग्रह गर्ने बताएपछि दलहरुबीच नयाँ प्रधानमन्त्रीको उम्मेदवारका विषयमासमेत छलफल भएको छ ।
बैठकमा सत्ता गठबन्धन दलले प्रधानमन्त्री बाबुराम भट्टराईलाई नै निरन्तरता दिन प्रस्ताव गरेका थिए । कांग्रेस एमालेले त्यसलाई अस्वीकार गरेपछि बेलुका बस्ने बैठकले त्यसबारे निर्णय गर्ने उपप्रधानमन्त्री तथा मोर्चाका नेता विजयकुमार गच्छादारले जानकारी दिनुभयो ।
अरु नेताले भने सहमतिका लागि प्रयास जारी रहेको जानकारी दिएका छन् । बैठकमा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको पनि सहभागिता थियो ।
बैठकमा बजेटबारे छलफल भएपनि सहमति जुट्न सकेन । पूर्ण बजेट अस्वीकार गर्ने राष्ट्रपतिको भनाईपछि दलहरुबीच नयाँ सरकार नै बनाएर बजेट ल्याउने ढंगबाट छलफल अघि बढेको बताइएको छ ।
– RSS