काठमाडौं । सरकारले सहमति विपरित पूर्ण बजेट र संविधानसभाको निर्वाचन गर्नका लागि राष्ट्रपतिलाई सिफारिस गरेकोप्रति प्रतिपक्षी दलहरुले तीव्र आपत्ति प्रकट गरेका छन् । सरकार विरुद्ध आन्दोलन घोषणा गरेका कांग्रेस-एमालेसहितका १५ प्रतिपक्षी दलले पूर्ण बजेट ल्याउने र बैशाखमा निर्वाचन गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका हुन ।
बजेट र अर्थतन्त्र सम्बन्धमा प्रतिपक्षी दलहरुले निजी क्षेत्रसँग गरेको कार्यक्रममा प्रतिपक्षी दलका नेताहरुले सरकारले सहमतिको बाटो बन्द गरेको बताएका हुन । कार्यक्रममा कांग्रेस सभापति सुशील कोइरालाले सरकार सहमतिको राजनीति तोडेर एकलौटी ढंगबाट अगाडि बढेको बताए ।
यसैगरी एमाले अध्यक्ष झलनाथ खनालले सरकारको पछिल्लो व्यवहार आपत्तिजनक र धोकापूर्ण भएको भन्दै खेद प्रकट गरे ।
त्यस्तै राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले एकलौटी ढंगबाट हिंड्ने सरकारको निर्णय खेदपूर्ण रहेको बताए ।