विशेष अदालतद्धारा पूर्व सहसचिव रञ्जितकारलाई भ्रष्टाचारी ठहर गर्दै कैद र जरीवाना हुने फैसला

काठमाडौं  – विशेष अदालतले पूर्व सहसचिव अरूणकुमार रञ्जितकारलाई भ्रष्टाचारी ठहर गर्दै एक वर्ष कैद, रू ४५ लाख ४५ हजार ५०३ बराबरको बिगो र बिगो बराबर जरीवाना हुने फैसला गरेको छ । 


उक्त अदालतका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले आज गरेको फैसलामा पूर्व सहसचिव रञ्जितकार र निजका परिवारको नाममा भएको रू ४० लाख ६७ हजार ७०० बराबरको सेयर र सेयरबाट बढेको रकम सरकारको हुने तथा रू चार लाखको सवारी साधन तथा नपुग रू ७७ हजार ८०३ बैंक मौज्दातबाट जफत हुने उल्लेख छ ।

 

निज रञ्जितकार र उनका परिवारसँग घर, जग्गा, सवारी साधन, सेयर, बैंक ब्यालेन्सलगायत जम्मा रू दुई करोड ५२ लाख आठ हजार बराबरको सम्पत्ति रहेकोमध्ये रू दुई करोड छ लाख ६२ हजार ८६४ बराबरको सम्पत्ति वैध भएको र रू ४५ लाख ४५ हजार ५०३ वैध आम्दानीभन्दा बढी देखिन आएको सो फैसलामा उल्लेख छ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६१ फागुन १८ गते सहसचिव रञ्जितकारविरुद्ध मुद्दा दायर गरेकोमा हदम्याद नघाइ मुद्दा दर्ता गराएको भन्दै उक्त अदालतले २०६३ असार २१ गते मुद्दा खारेज गरेको थियो।


सर्वोच्च अदालतले २०६८ फागुन ३० मा भ्रष्टाचार निवारण ऐनको दफा २४ क बमोजिमको हदम्यादभित्रै मुद्दा दायर भएको देखिएकाले मुद्दाको तथ्यभित्र प्रवेश गरी निर्णय आदेश दिएपछि पुनः उक्त अदातलमा सुनुवाई प्रारम्भ भएको थियो।


असिस्टेन्ट इन्जिनियरको रूपमा २०२९ वैशाखमा सरकारी सेवामा प्रवेश गरेका रञ्जितकार विभिन्न निकाय हुँदै भौतिक योजना तथा निर्माण मन्त्रालयमा सहसचिवको पदबाट २०५८ भदौमा सेवा निवृत्त भएका थिए। रासस