काठमाडौं – भगवान् विष्णुको पूजा, आराधना, भजन किर्तन र व्रत बसी शनिबार मुलुकभर हरिबोधनी एकादशी मनाइूदै छ । गत असार शुक्ल एकादशीमा क्षीर समुद्रमा शयन गरेका भगवान विष्णु भाद्र शुक्ल एकादशीमा कोल्टो फेरी यस दिन बिउँझन्छन् भन्ने हिदुहरूको मान्यता छ ।
भगवान् विष्णु जागा भएको यस अवसरमा राजधानीमा स्वयम्भु पछाडिको इचंगु, गोदावरी जाने बाटोमा पर्ने विशंखु, फर्पिङको शेषनारायण र चाँगुस्थित चाँगु नारायणमा श्रद्धालु भक्तजनहरू गई पूजा अर्चना गर्ने गर्दछन् । त्यहाँसम्म पुग्न नसक्ने भक्तजनहरू राजधानीको चिकंमुगलमा अट्कनारायण, व्रह्मटोलमा बन्देनारायण, जोशीदेवलमा रहेको इचंगुनारायणको प्रतीकका रूपमा रहेका नारायण र थाय्मरू (थसःमण्डप) मा रहेको इखानारायाणको दर्शन गर्न जाने परम्परा छ ।
यसै दिन गत असार शुक्ल एकादशीमा रोपेको तुलसी रूपी लक्ष्मीको विवाह नारायणसँग भएकाले यस दिनलाई तुलसी विवाहको रूपमा पनि लिने गरिन्छ । पौराणिक कालमा ऋषि कनककी छोरी किशोरीले यसै दिन सन्ध्याकालमा तुलसी विवाह सम्पन्न गराइएको स्कन्दपुराण वैष्णव खण्ड कार्तिक मास महात्म्यमा उल्लेख छ ।
हरिबोधनी एकादशीदेखि पूणिर्मासम्म पाँच दिन व्रत बसी भीष्म पञ्चक मनाउने पनि परम्परा छ । पाण्डव र कौरवबीच भएको महाभारतको युद्धमा घायल भई वाणको शय्यामा सुतेका पितामह भीष्मले भगवान् कृष्ण लगायत पञ्च पाण्डवलाई राजधर्म, मोक्षधर्म र दानधर्मको ज्ञानोपदेश दिएका थिए । ती उपदेश सुनी खसी भएका भगवान् कृष्णले हरिबोधनी एकादशीदेखि पूणिर्मासम्म पाँच दिन भीष्मलाई अघ्र्य दिई भीष्मपञ्चक व्रत गरेमा आफू सन्तुष्ट हुने बताएकाले त्यसै दिनदेेखि भीष्मपञ्चक मनाउने चलन भएको पुराणमा उल्लेख छ ।