इजिप्टका राष्ट्रपति मुहम्मद मुर्सीको अवैधानिक कू

कायरो   – इजिप्टका राष्ट्रपति मुहम्मद मुर्सीले नयाँ अध्यादेशमार्फत सम्पूर्ण शक्ति हात पारेका छन् । जसअनुरूप अब कसैले पनि उनले बनाएको कानुन, गरेको फैसला र जारी आदेशलाई चुनौती दिन पाउने छैन ।  विपक्षीले उनको यो कदमलाई अवैधानिक ‘कू’ बताएका छन् । समर्थकले यो घोषणालाई मुलुकलाई लामो राजनीतिक अस्थिरताबाट बचाउने लोकपि्रय पाइला बताएका छन् ।


यो घोषणाको केही घन्टापछि मुर्सीका समर्थक र विरोधी दुवैले थुप्रै सहरहरूमा र्‍याली आयोजना गरिरहेका छन् । दुवै पक्षको झडपमा थुप्रै घाइते भएका छन् । अदालतले नयाँ संविधानको निर्माणमा जुटेको संविधानसभालाई भंग गर्न नपाउने र उनले लिने फैसलाविरुद्ध कुनै पनि संस्थाले आपत्ति जनाउन नपाउने अध्यादेशमा व्यवस्था गरिएको मुर्सीले घोषणा गरेका छन् ।


यो घोषणामा सय सदस्यीय संविधानसभालाई नयाँ संविधानको मस्यौदा कोर्न दुई महिना समयावधि दिइएको छ । यो पारित भएको दुई महिनापछि व्यवस्थापिका संसद्को निर्वाचन हुनेछ । मुर्सीले मुलुकको मुख्य अभियोजनकर्ता अब्देल महमुदलाई पनि पदबाट हटाएका छन् । उनको ठाउँमा तलत इब्राहिमलाई नियुक्त गरिएको छ । होस्नी मुबारकको शासनमा सरकारविरोधी प्रदर्शनकारीमाथि आक्रमण गर्ने अधिकारीहरूलाई छाडेकोमा अब्देलको आलोचना हुँदै आएको थियो । नयाँ घोषणाले सन् २०११ को विद्रोह दबाउन हत्यामा संलग्न अधिकारीहरूविरुद्ध पुनः मुद्दा चलाउने बाटो खुलेको छ ।


विपक्षी नेता मुहम्मद इल बारादेईले मुर्सीमाथि महाराजधिराजको जस्तै काम गरेको आरोप लगाएका छन् । नयाँ घोषणाले राष्ट्रपतिको पद कानुनभन्दा माथि हुन गएको उनले बताएका छन् । ‘सम्पूर्ण शक्ति हातमा लिएर मुर्सीले आफूलाई इजिप्टको नयाँ सम्राटका रूपमा स्थापित गरेका छन्,’ नोबेल पुरस्कारले सम्मानित बारादेईले टि्वट गर्दै भनेका छन् ।


उनले यसलाई इजिप्टेली क्रान्तिमाथि ठूलो प्रहार भएको बताएका छन् । क्रान्तिका अगुवामध्येका वायल घोनिमले अर्का तानाशाहको खोजीका लागि मुलुकमा विद्रोह भएको होइन भन्ने कडा प्रतिक्रिया दिएका छन् । मुर्सीका समर्थकले यो कदमले क्रान्तिको रक्षा गर्ने बताएका छन् । उनीहरूले कायरोको हाई कोर्ट अघिल्तिर शुक्रबार राति खुसीयाली मनाएका छन् । सत्ताधारी ब्रदरहुड पार्टीका प्रवक्ता महमुद घोजियानले मुर्सीको घोषणालाई लोकपि्रय एवं क्रान्तिकारी कदमको रूपमा व्याख्या गरेका छन् ।


गाजा संकट समाधानमा महत्त्वपूर्ण भूमिका निभाएर अमेरिकी राष्ट्रपति बाराक ओबामाको प्रशंसा पात्र बनेका मुर्सीले अन्तर्राष्ट्रिय स्तरमा उच्च स्थान हासिल गरेको अनुभूति गर्न थालेको आलोचकहरूले बताएका छन् । मुर्सीले पुराना शासनकालका पूर्वाधार र संस्थालाई स्वच्छ बनाउने यो घोषणा गरेको बताएका छन् । विपक्षीले यसको कडा विरोध गर्दै विभिन्न सहरमा मुस्लिम ब्रदरहुडको कार्यालयमा आगजनी गरेका छन् । सहरहरूमा ‘मुर्सी मुबारक हो, सबैतिर क्रान्ति’ नारा गुन्जिन थालेको छ । तर, मुर्सीले शुक्रबारको एक सम्बोधनमा आफ्नो कठोर कदमको आशय प्रष्ट पारिसकेका छन् । ‘ईश्वरको इच्छाले अघि बढिसकेका छौं, कोही हाम्रो मार्गमा उभिँदैन,’ राजधानी कायराको एक मस्जिदमा सम्बोधन गर्दै मुर्सीले भने । उनले सबैसँग छलफल गरेर यो निर्णय लिएको बताएका छन् । ‘म ईश्वर र राष्ट्रलाई खुसी पार्न दायित्व निभाइरहेको छु,’ उनले भने, ‘स्पष्ट योजनाबिना विजय प्राप्त गर्न सकिन्न, त्यो नै मैले गरेको हुँ ।’

 

– एजेन्सीहरू