बाग्लुङ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संवैधानिक राष्ट्रपतिलाई कार्यकारी बनाउन खोजे देशमा दुर्घटना हुने बताउनु भएको छ ।
राजनीतिक दलहरुले नै राष्ट्रपतिलाई कार्यकारी बनाउन खोजेको उहाँको आरोप छ । धौलागिरी अञ्चल अस्पतालको उद्घाटन गर्न बाग्लुङ पुग्नुभएका प्रधानमन्त्रीले संवैधानिक राष्ट्रपतिलाई कार्यकारी बनाउन खोजे पूर्व राजा ज्ञानेन्द्रको हालत हुने चेतावनी दिनुभयो ।
राष्ट्रपतिलाई विवादमा तान्दा राजसंस्थाको अन्त्य भएजस्तै हुने भन्दै प्रधानमन्त्रीले गणतन्त्र नेपालका पहिलो राष्ट्रपतिको त्यस्तो अवस्था सोच्न पनि नसकिने बताउनुभयो ।
सहमतिको सरकारका लागि राष्ट्रपतिले गरेको आह्वानलाई सहज रुपमा लिँदै प्रधानमन्त्रीले प्याकेजमा सहमति गरेर राष्ट्रिय सरकार गठन गर्नुपर्ने धारणा पनि राख्नुभयो । नयाँ निर्वाचनको विकल्प छैन भन्दै उहाँले आगामी बैशाख मसान्तसम्ममा कुनै पनि हालतमा निर्वाचन गर्नैपर्ने त्यसका लागि आवश्यक प्रकृया पूरा गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
दुईबर्ष अघि स्तरोन्नति भएको अञ्चल अस्पतालको पहिलो भवन उद्घाटन गर्न प्रधानमन्त्री बाग्लुङ पुग्नुभएको हो ।
– RSS