राष्ट्रपति रामवरण यादवले राष्ट्रिय सहमतिको सरकार गठन गर्न दलहरूलाई आह्वान गरेको एक साताको समय बिहीबार सकिंदैछ तर कांग्रेस-एमाले लगायत विपक्षी गठबन्धनले आफ्नोतर्फबाट प्रधानमन्त्रीको उम्मेद्वारबारे निर्णयसमेत गरेका छैनन्। बिहीबार कांग्रेस सभापति कोइराला निवासमा बसेको कांग्रेस पदाधिकारीको अनौपचारिक बैठक पनि उम्मेद्वारबारे निर्णय नगरी सकिएको छ।
नयाँ प्रधानमन्त्रीबारे मुख्य राजनीतिक दलहरूबीच गम्भीर छलफलसमेत हुन नसक्दा सरकार गठनबारेको अनिश्चिता अरु बढेको छ। राष्ट्रिय सहमतिको साझा नाम चयन गर्ने संभावना देखिएको छैन।
राष्ट्रपतिले तोकेको समय सकिन एक दिन मात्र बाँकी छँदासम्म पनि कांग्रेसले उम्मेद्वार तोक्न सकेको छैन। एमालेले कांग्रेसलाई समयमै उम्मेद्वार तय गर्न आग्रह गरेको छ। एमाले-कांग्रेस लगायत १७ दलको विपक्षी गठबन्धनका तर्फबाट पनि चर्चामा कांग्रेस सभापति सुशील कोइरालाको नाम छ। उपसभापति रामचन्द्र पौडेल पनि आकांक्षी छन्।
सभापति कोइराला निवासमा बसेको कांग्रेस पदाधिकारीको अनौपचारिक बैठकले उम्मेद्वारीबारे कुनै निर्णय नगरेको उपसभापति रामचन्द्र पौडेलले नागरिकसँग बताए। ‘उहाँ पनि इच्छुक, म पनि इच्छुक हो’, पौडेलले भने, ‘उम्मेद्वारीबारे निर्णय भएको भन्ने सही हैन, प्रधानमन्त्रीका उम्मेद्वारबाहेक कुनै निर्णय गरेको छैन।’
एकीकृत माओवादी एकीकृत माओवादीले वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईकै नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिनुपर्ने अडानमा छ। साना दलको तर्फबाट सूर्यबहादुर थापा र मधेशी मोर्चाको तर्फबाट तराइ-मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि चर्चामा छन् तर बिहीबार अन्तिम दिन भए पनि बुधबारसम्म माओवादीबाहेक कुनै पनि दलले आफ्नो उम्मेद्वारबारे निर्णय गरेको छैन। बुधबार एमाले केन्द्रीय कार्यालय पुगेका कांग्रेस सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलले राष्ट्रपतिलाई म्याद थप्न आग्रह गर्नेबारे छलफल गरेका थिए।
एकीकृत माओवादीले भट्टराईकै नेतृत्वलाई निरन्तरता दिने निर्णय गरेको स्थायी समिति सदस्य कृष्णबहादुर महराले नागरिकलाई बताए। ‘हाम्रो उम्मेद्वार बाबुराम भट्टराई नै हो, उहाँको नेतृत्वमा सहमति हुनुपर्छ’, स्थायी समिति सदस्य महराले भने, ‘तत्कालै उहाँको विकल्प सोचेका छैनौं।’
एकीकृत माओवादी यसै तत्कालै सहमति होस् भन्ने पक्षमा रहेको महराले बताए। सहमतिका लागि माओवादी अधिकतम लचिलो हुन तयार रहेको बताउँदै सहमतिका निम्ति अन्य दलले आफ्नो प्रस्ताव स्वीकारे भट्टराईको विकल्प स्वीकार्न पनि सकिने उनले बताए। कांग्रेसले प्रधानमन्त्री चाहने हो भने संविधानका विवादित विषयमा सहमति गर्नुपर्ने र संविधानसभा पुनर्स्थापना गरी जारी गर्नुपर्ने माओवादीको पूर्वशर्त छ।
एमालेले सरकारको नेतृत्व गर्न कांग्रेसलाई आग्रह गरेको छ। ‘कांग्रेस सभापति कोइराला र उपसभापति पौडेल बल्खु आउनुभएको थियो, हामीले छिटो उम्मेद्वार तोक्न भन्यौं’, एमाले पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डेले भने, ‘उहाँहरूले उम्मेद्वार नतोके हामी विकल्पमा जान्छौं।’
राष्ट्रपति रामवरण यादवले अन्तरिम संविधानको धारा ३८(१) अनुसार, राष्ट्रिय सहमतिको सरकारको लागि दलहरूलाई मंसीर ८ गते आह्वान गरेका थिए। यसको म्याद बिहीबार सकिंदैछ। त्यसपछि राष्ट्रपतिले म्याद थप्ने निश्चित छ। ३८(१) अनुसार सहमति हुन नसके पनि संसद् नभएका कारण राष्ट्रपतिले ३८(२) अनुसार, बहुमतीय सरकारका लागि आह्वान गर्ने छैनन्। बहुमतीय सरकारको लागि गर्ने आह्वान संसद्लाई गर्नुपर्ने संवैधानिक व्यवस्था छ तर संसद् नभएकाले उनले निरन्तर राष्ट्रिय सहमतिका लागि मात्र म्याद थप्दै जाने तयारी गरेको स्रोतले जानकारी दियो।
Source:Nagarik