– दिनेश रेग्मी, कान्तिपुर
काठमाडौं – सुशासनको चर्का कुरा गर्ने बाबुराम भट्टराई नेतृत्वको सरकारले भ्रष्टाचार रोक्न सकेको छैन । वैदेशिक रोजगार विभागका अनुसन्धान अधिकृत राजेन्द्रबहादुर बस्नेतले मुद्दा मिलाइदिने भन्दै घूस खाएका छन् । उनले कार्यालय समयपछि कार्यालयकै पोसाकमा भक्तपुरको ठिमी चोकस्थित पान पसल नजिक अवैध रकम लिएका हुन् ।
उनी ५ महिनाअघि खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागबाट वैदेशिक रोजगार विभागमा काजमा पुगेका थिए । विभागको उजुरी शाखामा रहेका बस्नेत खासमा महान्यायाधिवक्ताको कार्यालयका सरकारी वकिल हुन् । एउटा कन्सल्टेन्सी कम्पनीबाट ठगिएको भनेर विभागमा परेको उजुरीका विषयमा छद्मभेषमा पुगेका व्यक्तिसँग बस्नेतले रकम लिएको भिडियो टेपबाट खुलेको हो । भिडियो टेप त्यही समूहले खिचेको छ, जसले पूर्वश्रममन्त्री कुमार बेलवासेको घूसकाण्ड खुलासा गरेको थियो ।
‘हामी कहाँ कन्सल्टेन्सीका एक व्यक्तिले समस्या राखेपछि स्टिङ अपरेसन (गोप्य खोजी) गरेर भिडियो खिचेका हौं,’ भिडियो खिच्ने ‘भ्रष्टाचारविरुद्धको अभियान नेपाल’ का एक सदस्यले कान्तिपुरलाई भने । अनुसन्धान अधिकृत बस्नेतले आफूले पाउने रकम निर्देशकलाई समेत दिनुपर्ने भनेर पटक-पटक भनेका छन् । ‘२५ हजार भन्नुहुन्छ तपाईं, कति आफूले खाने, कति हाकिमलाई दिने ?’ मुद्दा आरोपीले सोध्दा उनले भनेका छन् ‘मैले नि रकम बराल सर (निर्देशक योगराज बराल) लाई दिने हो, यति रकम मैले राखेर बराललाई के दिनु ?’ उनले सुरुमा रकम कम भएको भन्दै लिन आनाकानी गरेपछि थप हुने आश्वासन पाएर २५ हजार रुपैयाँ लिएका छन् ।
पान पसलनेर उज्यालो भएकाले उनले अली पर बाटामा अँध्यारोतिर लगेर लिएका छन् । दुई साताअघि खिचेको भिडियो टेपमा पान चपाउँदै उनले जेनेरल्ली (प्रायः जसो) शब्द पटक-पटक उच्चारण गर्दै मोलमलाई गरेका छन् । रकम दिएर भोलिपल्ट मुद्दा मिलाइदिन भन्दै विभागमा छद्मभेषका पुगेका उनै व्यक्तिसँग बस्नेतले विभागकै बरन्डामा लगेर ‘भिडियो त खिच्नुभएको छैन नि ?’ भनेका छन् । विभागले घूसबारे थाहा पाएपछि मंगलबारै उनको काज फिर्ता गरेको छ । बस्नेतले काज फिर्ता भएको जनाउँदै आफूलाई फँसाउन घूस दिन खोजेको तर नलिएको दाबी गरे । ‘मेरो पछि कोही मान्छे लागेर ५०औं पटक फोन गरेर भेटौं भनेर घूस दिन खोजेका हुन्, तर मैले मागेको होइन,’ उनले भने । भिडियो टेपमा बस्नेतले दिनुपर्ने आरोप लगाएका निर्देशक बरालले पनि घूस लिएको अस्वीकार गरेका छन् । ‘कहाँ मैले माग्नु ?’ बरालले भने, ‘मैले त झन् नगर्नु भन्दै आएको छु ।’ भिडियो खिच्ने अभियानका सदस्यले विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईलाई मंगलबार भेटेर जानकारी गराएका थिए ।