अल कायदा प्रमुख ओसामा बिन लादेनलाई खोज्न अमेरिकी गुप्तचर एजेन्सी सीआईएलाई सहयोग गर्ने पाकिस्तानी डाक्टर शकिल अफ्रिदीले जेलमै भोक हड्ताल शुरु गरेका छन् ।
डा शकिलका भाई जमिल अफ्रिदीले आफ्ना दाजु जेलभित्रै भोक हडतालमा रहेको जानकारी दिएका छन् । डा शकिल प्रतिबन्धित चरपन्थी संगठनसंग सम्बन्ध राखेको आरोपमा ३३ वर्षको जेल सजाय दिईएको भए पनि सीआईएलाई सहयोग गरेकोले नै उनलाई यो सजाय दिएको मानिएको छ । पेशावरको केन्द्रीय जेलमा सजाय काटिरहेका शकिलले यही साता देखी आफु विरुद्ध दुव्र्यवहार भएको भन्दै भोक हड्ताल शुरु गरेको बताइएको छ ।
गत सेप्टेम्बरमा अमेरिकाको फक्स न्यूजलाई जेलबाटै फोनको माध्यमले अन्तर्वाता दिएपछि उनीमाथि दुव्र्यवहार शुरु भएको शकिलका भाईले दाबी गरेका छन् । तर जेल प्रशासनले भने शकिलको भोक हड्तालको विषयमा जानकारी नभएको भन्दै उनलाई पूरा सुरक्षा दिएर राम्रोसंग राखिएको जनाएको छ ।
डा शकिलले नक्कली भ्याक्सिन अभियानको आडमा पाकिस्तानको एवोटावादमा लुकेर बसेका लादेनको परिवारको डिएनए नमुना लिएर अमेरिकालाई सहयोग गरेको आरोप लगाइंदै आएको छ । तर शकिलले भने लादेनको मृत्यु सम्बन्धमा आफुलाई कुनै जानकारी नभएको दाबी गरेका छन् ।
– Agencies