काठमाडौ – प्रमुख चार दलका शीर्ष नेताहरुको आग्रहमा राष्ट्रपति रामवरण यादवले सहमतीय सरकार निर्माणका लागि फेरि सात दिनको समय थपेका छन् । यसअघि,राष्ट्रपतिले सहमतीय सरकार निर्माणका लागि दिएको समय आज(बिहीबार) ४ बजे सकिएको थियो ।
बिहीबार साँझ शितल निवासमा भएको छलफलमा नेताहरुले फेरि समय थप्नुको विकल्प नरहेको भन्दै त्यसका लागि आग्रह गरेका थिए ।
सहमतीय सरकार निर्माणका लागि दिएको सात दिनको समय सीमा सकिएपछि अब के गर्ने बारे छलफल गर्न राष्ट्रपति यादवल प्रमुख दलका नेताहरु शितल निवासमा डाकेका थिए । ६ बजे शितल निवास पुगेका मधेसी मोर्चा सहित प्रमुख तीन दलका शीर्ष नेताहरु सवा ८ पछि बाहिरिए ।
सामुहिक छलफलबाट सहमतीय सरकार निर्माणका लागि म्याद थप्ने सहमति भएको एमाले अध्यक्ष झलनाथ खनालले बताए । ‘निर्धारित सात दिनको समय भित्र सहमति हुन सकेन,’खनालले भने ‘फेरि सहमतिका लागि म्याद थप्न राष्ट्रपतिज्यूलाई आग्रह गरियो ।’
सात दिनको अवधिमा दलहरुबीच सरकार निर्माणका विषयमा कुनै सहमति जुट्न सकेको छैन । ‘अब थपिएको समयसीमा भित्र हामी सहमति गर्ने छौं,’ खनालले भने । बैठकबाट बाहिरिएका नेताहरुले खनाललाई नै सञ्चारकर्मीसंग बोल्न आग्रह गरे बमोजिम उनले मात्रै प्रतिक्रिया दिएका थिए ।
बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाबाट राजेन्द्र महतो सहभागी थिए ।