काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार लगानी मैत्री वातावरण बनाउन सफल भएको दाबी गर्नुभएको छ । निजी क्षेत्र र वैदेशीक निकायले सरकारले चालेका कार्यक्रमले लगानी मैत्री वातावरण बनेको आफूलाई भनेको उहाँले जिकिर गर्नुभएको हो ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को १५औं स्थापना दिवसको अवसरमा गरिएको कार्यक्रममा प्रधानमन्त्री भट्टराईले केहि वर्षभित्र राजनीतिक समस्या समाधान भई आर्थिक विकास तर्फ मुलुक अगाडि बढ्ने पनि बताउनुभयो । मुलुकले संक्रमणकालिन अर्थनीति अपनाइरहेको भन्दै उहाँले पछिल्लो समय आयात बढेको तर्फ सरकार संवेदनशील बनेको बताउनु भयो । नयाँ बजेट ल्याउन नसकिएको अवस्थामा अहिलेको आर्थिक सूचकहरु अत्यन्त सकारात्मक रहेको प्रधानमन्त्रीले दाबी गर्नुभयो । पुरानै सरकारको नीति तथा कार्यक्रमलाई निरन्तरता दिएर पूर्ण बजेट ल्याउन नदिएको अवस्थामा अहिलेको आर्थिक सूचकलाई उपलब्धिमूलक मान्नुपर्ने उहाँको भनाई हो ।