भारतीय कंग्रेसका प्रभावशाली नेता करण सिंहले राष्ट्रपति रामवरण यादवलाई नयाँ नेपाल निर्माणका निम्ति होसियारीपूर्वक कदम चाल्न सुझाव दिएका छन् । ‘तपाईंको यात्रा छुरीको धारमा छ,’ शुक्रबार राजधानीमा आयोजित ‘मदनमोहन मालवीयको १५० औं जन्मजयन्ती’ समारोहमा सिंहले भने, ‘नयाँ नेपाल निर्माणका निम्ति आफ्नो लक्ष्यअनुसार होसियारीपूर्वक कदम चाल्नुस् ।’ उनले मालवीयको जन्मजयन्ती अवसरमा बनारस हिन्दु विश्वविद्यालयको कुलपतिका हैसियत र नेपालको ज्वाइँका नाताले नेपाल आएको बताए । राजनीतिक विषयमा भने उनी खासै खुलेनन् । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित समारोहमा प्रमुख अतिथि राष्ट्रपति यादवले ‘महामना मदनमोहन मालवीय स्मृतिपुष्प’ ग्रन्थ विमोचन गरेका थिए ।
राष्ट्रपति यादवले मालवीयको व्यक्तित्वबारे लिखित रूपमा चर्चा गरेका थिए । त्यसैगरी २०६२/६३ को आन्दोलनमा करण सिंह तथा परिवारबाट पाएको सहयोग प्रशंसा गरेका थिए । त्यसैगरी नेपालका लागि भारतीय राजदूत जयन्त प्रसाद, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलगायतले मालवीयको व्यक्तित्वबारे चर्चा गरेका थिए । मालवीय बनारस हिन्दु विश्वविद्यालयका संस्थापक तथा पत्रकार, वकिल, शिक्षासेवी र प्रखर वक्ता थिए । सन् १८६१ मा जन्मिएका मालवीयको १९४६ मा निधन भएको थियो । उनी भारत स्वतन्त्रताका निम्ति एक योद्धासमेत भएको जानकारले बताए । काठमाडौंस्थित महामना मालवीय मिसनले स्मृति ग्रन्थको प्रकाशन गरेको हो । साढे चार सय पृष्ठमा समेटिएको ग्रन्थमा अंग्रेजी, नेपाली र हिन्दी गरी तीन खण्डमा मालवीयको व्यक्तित्वबारे विभिन्न व्यक्तिको संस्मरण छ ।
यसैबीच सिंहले नेपालमा आगामी वैशाखमा निर्वाचन हुने र छिट्टै सहमतिको सरकार गठन हुने विश्वास व्यक्त गरेका छन् । वरिष्ठ राजनीतिज्ञ र पूर्वप्रधानमन्त्रीहरूसँगको रात्रिभोजमा शुक्रबार उनले यस्तो विश्वास व्यक्त गरेको स्रोतले जनायो । सिंहको सम्मानमा राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले महाराजगन्जस्थित आफ्नो निवासमा आयोजना गरेको रात्रिभोजमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, पूर्वप्रधानमन्त्रीहरू सूर्यबहादुर थापा, शेरबहादुर देउवा, झलनाथ खनाल, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द, राजपा नेताहरू राजेश्वर देवकोटा, विश्वबन्धु थापालगायत सहभागी थिए । स्रोतका अनुसार भारतीय नेता सिंहले आगामी वैशाखमै नयाँ निर्वाचन हुनुपर्नेमा जोड दिएका थिए । ‘वैशाखमा निर्वाचन हुनुपर्छ र हुन्छ भन्नेमा म विश्वस्त छु,’ सिंहको अनौपचारिक कुराकानीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘१२ बुँदे समझदारीका पक्षहरू मिलेर जानुपर्छ । संसारमा गणतन्त्रको संस्थागत विकासका लागि राष्ट्रपति र प्रधानमन्त्री मिलेर जाने नजिर छ ।’
उनले छिट्टै राष्ट्रिय सहमतिको सरकार बन्ने विश्वास पनि व्यक्त गरेका थिए । राणाले राजनीतिक व्यक्तित्वहरू उपस्थित रहे पनि यो भेटघाट नितान्त सामाजिक रहेको बताए । सिंह र राणा नजिकका नातेदार हुन् । साँझ साढे ७ देखि सुरु भएको रात्रिभोज झन्डै ९ बजेसम्म चलेको थियो ।